राष्ट्र बैंकले बैंकहरुलाई सौतेनी जस्तो व्यवहार गर्‍यो -अध्यक्ष गोल्यान

राष्ट्र बैंकले बैंकहरुलाई सौतेनी जस्तो व्यवहार गर्‍यो -अध्यक्ष गोल्यान


बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाले बैंकहरुको नाफा १५ प्रतिशत घट्ने बताएका छन् । 

नेपाल राष्ट्र बैंकले आईतवार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा समग्र अर्थतन्त्रको समस्या भन्दापनि बैंकको नाफा कम गर्ने हिसावले आएको बताएका हुन् । बुधवार सञ्चारकर्मीसँगको कुराकानीम उनले मौद्रिक नीतिको समिक्षाबारे प्रतिक्रिया दिँदै बैंकहरुको स्पेडदर ०.४ प्रतिशत घटाउँदा बैंकको नाफा १० देखि १५ प्रतिशतसम्म घट्ने अवस्था देखिएको दाबी गरे । 
 
अध्यक्ष गोल्यानले राष्ट्र बैंक बैंक तथा वित्तिय संस्थाहरुको अभिभावक भएपनि बैंकहरुलाई नै धरासायी बनाउने गरी मौद्रिक नीति ल्याएको बताए । उनले मौद्रिक नीतिको समिक्षाबाट बैंकहरुको अभिभावक राष्ट्र बैंक भएपनि बैंकहरुलाई सौतेनी व्यवहार जस्तो गरेको आरोप लगाए ।

उनले भने, ‘राष्ट्र बैंकले बैंकहरुको ब्याज घटाउनै पर्छ । निक्षेपको ब्याज नघटाए कुनै उपाय नै छैन । छिमेकी देश भारतमा निक्षेप ६ प्रतिशत ब्याज र नेपालमा १२ प्रतिशत ब्याजदर यो उचित होइन । ब्याज घट्यो भने पैसा बाहिर जान्छ भन्ने होला तर हामीले ९ प्रतिशत ब्याज बढाउँदा १२ प्रतिशत बनायौं । तर बैंकहरुमा निक्षेप बढेन । रेमिट्यान्स बढेको बेलमा निक्षेप बढेको छ अन्य बेलामा बढेको छैन । मंसिर मसान्तको लागि १ प्रतिशत ब्याज कम गर्नुपर्छ । निक्षेपको ब्याजदर प्रत्येक महिना गरी ३ प्रतिशतसम्म ब्याज कम गर्नुपर्छ । अहिले बजारमा ब्याज भन्दा पनि पैसा नपाएर समस्या भएको हो । उत्पादन उद्योगहरुलाई ब्याजदर वृद्धिले मुख्य समस्या बनाएको छ । पैसा नपाएर पछिल्लो ४ महिनामा बैंकहरुले ४५ अर्ब भन्दा माथि मात्रै कर्जा प्रवाह गरेका छन् । गत वर्ष सोही समयमा ३ अर्ब बढी कर्जा प्रवाह भएको थियो । बजारमा तरलता अभाव भएकाले भोलि के हुन्छ भनेर मानिसहरुले बैंकको स्टलमेन्ट समेत नतिरेकाले बैंकहरुमा पैसा आउन सकेन । यसले अब बैंकको खराब कर्जा (एनपीए) बढ्छ भने अर्को उत्पादन उद्योग धरासायी बन्छ । पौष महिनामा ७० अर्ब रिफाइनान्सको रकम बाहिर जान्छ । त्यसपछि अझ बढी बैंकिङ प्रणालीमा समस्या आउँछ । निजी क्षेत्रले पनि बुझ्दै नबुझी बैंकको ब्याजर घटाउँ मात्रै भनेर बैंकहरुलाई गाली गरेर समस्याको समाधान हुँदैन । ब्याजदर लगायतका समस्या समाधान गर्न बैंक र नीजि क्षेत्र मिलेर गर्नु आवश्यक छ । अब यस्तै रह्यो भने अब न शेयर बजारसमेत राम्रो हुँदैन ।’
 
अध्यक्ष गोल्यानले मौद्रिक नीतिको समिक्षा बैंकहरुलाई मात्रै टार्गेट राखेकाले बैंकहरु धरासायी हुने बताए । उनले मौद्रिक नीतिमा लागू गर्ने भनिएको दोहोरो ब्याजदर प्रणाली तत्काल लागू गर्न माग गरे । उनले सबै क्षेत्र बच्नसक्ने गरी मौद्रिक नीतिको समिक्षा हुनुपर्नेमा त्यस्तो नभएको बताए । 

उनले भने- ‘अहिलेको चर्को ब्याजमा कुनैपनि व्यवसाय बच्न सक्दैन । सबै क्षेत्र बाच्नसक्ने गरी मौद्रिक नीतिको समिक्षा आउनुपर्ने थियो तर आएन । ०.४ प्रतिशत स्पेडदर कम गरेर ठूला बडाहरुले मात्रै त्यसको फाइदा लिन्छन् । बैंकहरुले जोखिम हेरेर लगानी गर्छन् । स्पेडदर कम हुँदैमा केही राहत हुन्छ जस्तो लाग्दैन । तर बैंकहरु कमजोर हुँदै जान्छन् । राष्ट्र बैंकले दुई चारवटा बैंकले खराब काम ग¥यो भन्दैमा सबैलाई एकै ठाउँमा राख्न मिल्दैन । एउटा खराब बैंकलाई देखाएर राष्ट्र बैंक र निजी क्षेत्रले बैंकिङ क्षेत्रलाई नै चोर भन्न मिल्दैन । बैंक तथा वित्तिय संस्थाहरु भनेको देशको आर्थिक मेरुदण्ड हो । यो नै धरासायी भयो भने सबै क्षेत्र त्यस्तै हुन्छ । त्यसको समाधान राष्ट्र बैंक र सरकारले गर्नुपर्छ । आवश्यक हुँदा ब्याजदर घटाउनु पर्छ र तरलता सहजता बनाउनुपर्छ भन्ने पक्षमा बैंकहरु पनि छन् । अहिले हामीलाई नाफा भन्दा पनि महत्वपूर्ण विषय भनेको बाच्नुपर्छ भन्ने हो ।’

अध्यक्ष गोल्यानले राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा नीति गलत नभएको बताए । उनले फाइनान्ससियल अनुशासनमा हुनेहरु व्यवसायीहरुलाई चालु पुँजी कर्जा नीतिले केही समस्या नपार्ने बताए । बैंकहरु अनुसाशित नहुँदा राष्ट्र बैंकले चालु पुँजी कर्जा नीति ल्याएको उनले बताए । 

अध्यक्ष गोल्यानले एउटा उद्योगबाट १ अर्बको कारोबार हुनेमा २ अर्बको कर्जा लिएर पैसा अन्य शेयर मार्केट,नयाँ कम्पनी स्थापना,जग्गा खरिदमा लगानी गर्नेहरु चालु पुँजी कर्जा मार्गदर्शन खारेज गर्न माग गरिरहेको बताए ।

उनले भने- ‘तरलता अभाव नहुँदा बैंकहरुले पनि आँखा चिम्लेर कर्जा दियो । त्यो बैंकले पनि दिन नहुने काम गरेको छ । यसलाई सुधार गरिएन भने बैंकहरु डुब्छन् । राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा मार्गदर्शन गलत होइन । बैंकहरु अनुशासनमा बसेको भए यो नीति ल्याउनुपर्ने थिएन । एउटा बैंकले दिएपछि सबै बैंकहरुले दिँदा समस्या भएको हो । नीति गलत होइन तर केही व्यवस्थाहरु मिलाउन आवश्यक छ । राष्ट्र बैंकले नीतिको विषयमा सबैलाई राम्रोसँग बुझाउनु पर्छ । आवधिक कर्जा सस्तो हुनुपर्ने हाम्रो देशमा त्यो नै महँगो छ ।’ 
 
अध्यक्ष गोल्यानले तरलता बढी भएको बेलामा बैंकहरुले जथाभावी कर्जा दिँदा समस्या भएको बताए । उनले  चालुपुँजी कर्जा नीति गलत नभए पनि केही  व्यवस्थाहरुमा परिवर्तन गर्न आवश्यक रहेको बताए । चालु पुँजी कर्जा नीतिको विषयमा बैंक तथा व्यवसायीहरुलाई स्पष्ट रुपमा बुझाउन सक्नुपर्ने उनले बताए । 

Logo