सरकारले वस्तु निर्यातभन्दा व्यक्ति निर्यात गर्ने नीति लिँदा उद्योग संकटमा छः अध्यक्ष पशुपतिदेव पाण्डे

सरकारले वस्तु निर्यातभन्दा व्यक्ति निर्यात गर्ने नीति लिँदा उद्योग संकटमा छः अध्यक्ष पशुपतिदेव पाण्डे


नेपालबाट निर्यात हुने बस्तुमध्ये रेडिमेड गार्मेन्ट अर्थात तयारी पोशाक पनि मुख्य हो । नेपालबाट विभिन्न देशमा निर्यात हुने तयारी पोशाक आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा साढे २ अर्ब रुपैया बराबरको निर्यात भएको छ । उक्त अवधिमा नेपालले २ अर्ब ३८ करोड ५८ लाख रुपैयाँको ३७ लाख ५ हजार पिस तयारी पोशाक निर्यात गरेको हो । 

गत आर्थिक वर्षको तीन महिनामा नेपालले तयारी पोशाक १ अर्ब ८१ करोड ६६ लाख रुपैयाँको २८ लाख २४ हजार पिस निर्यात गरेको थियो । गत आबको सोही अवधिको तुलनामा ३१.३४ प्रतिशतले धेरै भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कमा उल्लेख छ । 

अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षको निर्यातमा केही सुधार देखिएको नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले बताएका छन् । उने भने , “आर्थिक वर्ष २०७८/७९ मा केही सुधार देखिए पनि समग्रमा हेर्दा तयारी पोशाकको व्यवसाय निकै दयनीय अवस्थामा पुगेको छ । निर्यात कम हुन थालेपछि धेरै उद्योगीहरु पलायन भएका छन् ।”

व्यवसायी पाण्डेका अनुसार सन् २००५ सम्म १२ सय भन्दा बढी उद्योग भएकोमा अहिले ६५ वटा मात्र छन् । उनी भन्छन्, “सन् २००५ भन्दा पहिले ८० को दशकमा नेपालबाट तयारी पोशाक करिब ४० करोड डलर निर्यात हुन्थ्यो तर अहिले ५ करोड डलरमा झरेको छ । अमेरिकासँगको सम्झौता “मल्टिफाइब” सन् २००५ मा सकिएको तर त्यसलाई नवीकरण गर्न तर्फ सरकारको ध्यान नजाँदा नेपाली उद्योगहरु पलायन भए साथै निर्यात पनि घटेको हो ।उक्त सम्झौता अनुसार अमेरिकाले धेरै मात्रामा तयारी पोशाक निर्यात गर्नुको साथै भन्साररहित निर्यात हुन्थ्यो ।”

सरकारले वस्तु निर्यातभन्दा पनि व्यक्ति निर्यात गर्ने नीति लिएको उनको भनाइ छ । उनले भने, “सरकारले वस्तु निर्यात गरेर आर्जन गर्नेभन्दा पनि आयात गरेको वस्तु बिक्री गरेर त्यसमा कर लगाएर रमाएको अवस्था देखिएको छ । सरकारले व्यवसायीको हित हुने नीति ल्याउन सकेको छैन् । व्यवसाय बढाएर स्वदेशमा रोजगारी बढाउनेतर्फ कसैको ध्यान गएको छैन् ।”

अर्कोतर्फ बैंकको व्याजदरले पनि तयारी पोशाक उद्योगीलाई मार परेको उनको भनाइ छ । उनले भने, “व्याजदर र कर्जामा कडाई गर्दा नयाँ लगानी भित्रिन सकेको छैन् ।”

यस्तै, नेपाल लेन्डलक कन्ट्री भएको कारण उत्पादित सामान महङ्गो हुँदा गुणस्तरीय सामान भएपनि विदेशीहरुले किन्न नमान्ने उनको भनाइ छ । कोभिडपछि कच्चा पदार्थलगायत कार्गोको भाडा बृद्धिले झनै मारमा पारेको उनले बताए । उनका अनुसार अहिले कार्गोदेखि अन्य विभिन्न बस्तुको मूल्य वृद्धि भएको छ । कार्गोको भाडा १ डलर भएकोमा बढेर ४ डलर पुगेको छ ।

स्वदेशी बजारमा पनि तयारी पोशाकको माग र आपूर्ति राम्रो भएको बताएका छन् । उनी भन्छन्, “नेपाली बजारमा पाइने कपडा २० देखि २५ प्रतिशत  स्वदेशमै उत्पादन भएको छ । सम्पूर्ण नेपालीमा नेपालको उत्पादन पनि राम्रो हुन्छ भन्ने जनचेतना जगाउनु आवश्यक छ ।”

नौ वर्षमा कति निर्यात ?
त्यस्तै, नेपालमा मुख्य निर्यात हुने वस्तुमा समावेश रहेको तयारी पोशाक अमेरिकासँगको सम्झौता “मल्टिफाइब” सन् २००५ मा सकिएपछि पछिल्लो ९ वर्षको अवधिमा ४९ अर्ब बढी निर्यात गरेको छ । तथ्याङ्क अनुसार नेपालले अर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७८/७९ सम्म ४९ अर्ब ८८ करोड ६८ लाख रुपैयाँको १२ करोड १३ लाख ५२ हजार पीस  तयारी पोशाक निर्यात गरेको छ । 

नेपालले आव २०७०/७१ मा ५ अर्ब ६० करोड ४९ लाख रुपैयाँको १ करोड ४० लाख पीस, आव २०७१/७२ मा ५ अर्ब २८ करोड ७९ लाख रुपैयाँको १ करोड २८ लाख ४३ हजार पीस, आव २०७२/७३ मा ५ अर्ब ८८ करोड ४५ लाख रुपैयाँको १ करोड ३३ लाख १९ हजार पीस, आव २०७३/७४ मा ३ अर्ब ३० करोड ३१ लाख रुपैयाँको १ करोड २३ लाख पीस, आव २०७४/७५ मा ५ अर्ब ९७ करोड ९ लाख ९५ हजार रुपैयाँको १ करोड ५० लाख ४८ हजार पीस निर्यात भएको छ । 

यस्तै, आव २०७५/७६ मा ६ अर्ब ३४ करोड ३१ लाख रुपैयाँको १ करोड २२ लाख ६२ हजार पीस, आव २०७६/७७ मा ४ अर्ब ८७ करोड ३८ लाख रुपैयाँको ९१ लाख ७६ हजार पीस, २०७७/७८ मा ५ अर्ब ३१ कराड ९१ लाख रुपैयाँको १ करोड १८ लाख ६३ हजार पीस, आव २०७८/७९ मा ७ करोड २९ लाख रुपैयाँको २ करोड ४ लाख ६७ हजार पीस तयारी पोशाक निर्यात भएको छ । 

तीन महिनाको अवधिमा कुन देशमा कति निर्यात?
नेपालबाट आव २०७९/८० को पहिलो तीन महिनामा २ अर्ब ३८ करोड ५८ लाख रुपैयाँको तयारी पोशाक निर्यात हुँदा अमेरिकाले सबै भन्दा धेरै ५८ करोड ६६ लाख रुपैयाँको १४ लाख २२ हजार पिस निर्यात गरेको छ । त्यस्तै, बेलायतमा तीन महिनाको अवधिमा ३६ करोड ८६ लाख  रुपैयाँको ४ लाख ४६ हजार पिस, जर्मनीमा २४ हरोड ६७ लाख रुपैयाँको २ लाख ३५ हजार पिस, फ्रान्समा २० करोड ६२ लाख रुपैयाँको ७४ हजार पिस, जापानमा २० करोड ३७ लाख रुपैयाँको १ लाख ६७ हजार पिस, इटालीमा १२ करोड ९९ लाख रुपैयाँको १ लाख २० हजार पिस र नेदरल्यान्डमा ११ करोड १९ लाख रुपैयाँको १ लाख १९ हजार पिस तयारी पोशाक निर्यात भएको छ । 

यसैगरी नेपालले युएईमा १ करोड ४२ लाख रुपैयाँको २२ हजार पिस, स्वीजरल्यान्डमा  १ करोड ४८ लाख रुपैयाँको १५ हजार पिस, स्वीडेनमा ३ करोड ६ लाख रुपैयाँको १० हजार पिस, स्पेनमा ३ करोड ७३ लाख रुपैयाँको ९० हजार पिस, न्यूजिल्यान्डमा २ करोड ३२ लाख रुपैयाँको ३८ हजार पिस, दक्षिण कोरियामा १ करोड ४३ लाख रुपैयाँको २५ सय २२ पिस, आयरल्यान्डमा १ करोड ६६ लाख रुपैयाँको १० हजार पिस तयारी पोशाक निर्यात भएको छ । 

साथै, भारतमा ६ करोड २७ लाख रुपैयाँको १ लाख ११ हजार पिस निर्यात गर्दा फिनल्यान्डमा भने १ करोड २७ लाख रुपैयाँको १० हजार पिस निर्यात भएको हो । यता डेनमार्कमा ८ करोड १४ लाख रुपैयाँको ७० हजार पिस, चेच रिपब्लिकमा ३ करोड रुपैयाँको ३५ हजार पिस, क्यानाडामा ६ करोड ६५ लाख रुपैयाँको १ लाख ९ हजार पिस तयारी पोशाक निर्यात भएको छ । यस्तै, अष्ट्रियामा ५ करोड ३९ लाख रुपैयाँको १९ हजार पिस निर्यात हुँदा अष्ट्रेलियामा ७ करोड ४० लाख रुपैयाँको १ लाख ८४ हजार पिस तयारी पोशाक निर्यात भएको छ ।

सरकारले सबै व्यवसायीलाई समान व्यवहार गर्नु पर्ने अध्यक्ष पाण्डेको तर्क छ । उनले भनेका छन्, ''सरकारले अन्य मुलुकको व्यापारमा भएको सुधारको जानकारी लिएर स्वदेशी व्यापारीलाई सहज हुने नीति निर्माण गरेमा समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ ।'' सरकारले निर्यात व्यवसायीलाई सस्तो व्याजमा ऋण उपलब्ध हुने व्यवस्था मिलाइदिने हो भने गार्मेन्टको निर्यात उच्च हुने उनको दाबी छ । साथै सरकारले विदेशी लगानी भित्राउन प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।

 

Logo