बिदा हुँदै गृहमन्त्री खाणले भने- नयाँ सरकारलाई सहजतापूर्वक लिएको छु, सबैले सहयोग गरौं

बिदा हुँदै गृहमन्त्री खाणले भने- नयाँ सरकारलाई सहजतापूर्वक लिएको छु, सबैले सहयोग गरौं


गृहमन्त्री बालकृष्ण खाणले पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकार बन्ने प्रक्रियालाई आफूले सहजापूर्वक लिएको बताएका छन् । 

सोमबार मन्त्रालयमा आयोजित आफ्नो बिदाई भेटमा बोल्दै काँग्रेस नेता समेत रहेका गृहमन्त्री खाणले नयाँ सरकार गठन प्रक्रियालाई देशले पनि सहजतापूर्वक लिनुपर्ने बताएका हुन् । उनले नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई आफूले फोनमार्फत् बधाई तथा शुभकामना दिएको उल्लेख गर्दै दाहाल नेतृत्वको सरकारलाई सबैले सहयोग गर्नुपर्ने पनि स्पष्ट पारे । 

उनले भने, ‘आम निर्वाचनपछि सरकार निर्माण गर्ने प्रक्रियामा केही परिवर्तनहरु पनि भएका छ । गठबन्धनमा परिवर्तन पनि भएको छ । यसलाई देशले सहजतापूर्वक नै लिनुपर्दछ । तर सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालजीलाई मैले हिजो फोन गरेर बधाई तथा शुभकामना पनि दिएको छु । र, नयाँ सरकारलाई हामी सबैले मद्दत गर्नु पर्दछ । अव हाम्रो संवैधानिक व्यवस्थाले, दलीय प्रबन्धले राजनीतिक दलका नेता र कार्यकर्ताहरु दलमा आवद्ध रहनु त स्वभाविक हो । तथापि सरकार भनेको सरकारकै निरन्तरता हो ।’ 

गृहमन्त्री खाणले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहेपनि फरक नपर्ने अनुभूति समेत सुनाए । प्र्र्र्र्रधानमन्त्री कार्यालयमा रहेको सो विभागलाई गृह मन्त्रालय मातहत ल्याउन अझै पनि दवाव परिरहेका बेला उनले भने जहाँ रहेपनि फरक नपर्ने प्रतिक्रिया दिएका हुन् । 

उनले भने, ‘यो राष्ट्रिय अनुसन्धान विभाग कहाँ छ ? यसको अफिसमा त मैले देखेको पनि छु । यो गृह मन्त्रालय मातहत छ कि प्रधानमन्त्री कार्यालय मातहत त ? त्यसको भिन्नता चाँही मैले आफ्नो कार्यकालमा भेटिन । मैले आवश्यक परेका सबै सूचनाहरु पनि पाए । कतिपय नीति निर्माण चाँही मागेको सल्लाहहरु पनि पाए । मागेका अरु सहयोगहरु पनि पाएँ । त्यसकारणले म राष्ट्रिय अनुसन्धान विभागमा प्रमुखलाई पनि म धन्यवाद दिन चाहन्छु ।’ 

गृहमन्त्री खाणले गृह मन्त्रालयमा स्रोत र साधनको भने कमी रहेको औंल्याउँदै त्यसको बन्दोबस्त गर्न आवश्यक रहेको पनि पटकपटक दोहो¥याए । उनले मध्यरातमा आफूले मन्त्रालयमा बसेर काम गरेको र त्यसमा सबै कर्मचारीहरुले सहयोग गरेको भन्दै धन्यवाद समेत व्यक्त गरे । 

विपद् व्यवस्थापन, मन्त्रीपरिषदका लागि आवश्यक प्रस्ताव तयार पार्न र शान्ति सुरक्षाको व्यवस्थापन गर्न आफू र मन्त्रालयका पदाधिकारीहरुले मध्यरातमा पनि मन्त्रालयमा बसेर काम गर्नु परेको मन्त्री खाणको भनाई थियो । उनले आफूलाई मन्त्रीको रुपमा सबैले सहयोग गरेको उल्लेख गर्दै मन्त्रालयका सबै कर्मचारीहरुप्रति आभार समेत व्यक्त गरे ।  

गृहमन्त्री खाणले १ वर्ष ६ महिना १२ दिन गृह मन्त्रालयको नेतृत्व गरेका थिए । त्यसलाई सफलतापूर्वक संचालन गरेको उनको दावी थियो । खासगरी स्थानीय तहको निर्वाचन र आम निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा आफू खुशी रहेको गृहमन्त्री खाँणले बताए । 

Logo