५ सय ३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानीको सफल परीक्षण

५ सय ३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानीको सफल परीक्षण


मेलम्चीको पानी वितरण गर्न निर्माण गरिएको वितरण सञ्जालमध्ये पाँच सय ३२ किमीमा पानी परीक्षण सम्पन्न भएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले एक हजार १० किमी लामो वितरण सञ्जाल निर्माण गरेकोे छ । बाँकी क्षेत्रमा पानी परीक्षणको तयारी भइरहेको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए । तेस्रो पटक मेलम्चीको पानी राजधानी आउनुअघि दैनिक २० देखि २५ किमी क्षेत्रमा पानी परीक्षण गर्ने गरिएको थियो । लिमिटेडको पुरानो स्रोतबाट वितरण भएको पानीले त्यसबेला पानी वितरण गर्ने गरिएको थियो । मेलम्चीको पानी आउन थालेपछि गत मङ्सिर तेस्रो सातादेखि भने दैनिक ६० देखि एक सय किमीसम्म पानी परीक्षण गर्ने गरिएको उनले बताए ।

परीक्षणका क्रममा नयाँबजार, बानेश्वर, लैनचौरलगायत क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ महानगरपालिकाले विद्युत्का तार भूमिगत, ढल व्यवस्थापनलगायत प्रयोजनका लागि खन्दा पाइप पनि काटिएको अवस्थामा भेटिएको निर्देशनालयले जनाएको छ । मेलम्चीको पानी आउन थालेपछि नयाँ वितरण सञ्जाल परीक्षणका लागि पानी पठाउँदा पाइप काटिएको थाहा पाइएको हो ।

पाइप काटिएर पानी चुहावट भएको थाहा पाउने बित्तिकै मर्मत सम्भारका लागि समूह परिचालन गरिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयले सक्दो छिटो काटिएको पाइप मर्मत गरी पानी वितरण गर्ने व्यवस्था मिलाएको छ ।

Logo