व्यवसायिक तोरी खेती गर्नेलाई गाउँपालिकाले अनुदान दिने

व्यवसायिक तोरी खेती गर्नेलाई गाउँपालिकाले अनुदान दिने


खोटाङको केपिलासगढी गाउँपालिकाले व्यवसायीक रुपमा तोरी खेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७९÷०८० को गाउँसभाबाट स्वीकृत कृषि विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले व्यवसायीक रुपमा तोरी खेती गर्ने किसानलाई खेती गरेको क्षेत्रफल र उत्पादनको आधारमा अनुदान सहयोग उपलव्ध गराउने भएको हो । गाउँपालिकाको अनुदान पाउनका लागि किसानले कम्तीमा तीन रोपनी जग्गामा तोरी खेती लगाउनुपर्ने छ वा कम्तीमा दुई मुरी तोरी उत्पादन गर्नुपर्नेछ । कम्तीमा तीन रोपनी वा सोभन्दा बढी जग्गामा तोरी खेती लगाउने किसानलाई प्रतिरोपनी एक हजार र कम्तीमा दुई मुरी वा सोभन्दा बढी तोरी फलाउने किसानलाई प्रतिमुरी दुई हजार पाँच सयका दरले विनाशर्त अनुदान उपलब्ध गराउने तयारी गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताए ।

गाउँपालिका अध्यक्ष संयोजक रहेको अनुगमन तथा मुल्यांकन समितिको सिफारिसका आधारमा कृषक, कृषि फर्म र कृषक समुहलाई बैंक खातामा अनुदान उपलव्ध गराइने तोरी खेती प्रोत्साहन अनुदान कार्यक्रम कार्यविधिमा उल्लेख छ । प्रतिरोपनी जग्गा बराबरको अनुदान लिने वा तोरीको मुरीको आधारमा अनुदान लिने निर्णय किसानको हुनेछ । व्यवसायिक तोरी खेतीका माध्यमबाट किसानलाई स्वरोजगार बनाउँदै आयतित खाने तेललाई विस्थापित गर्ने लक्ष्यका साथ गाउँपालिकाले तोरी खेती गर्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।

असंगठित रुपले तोरी खेती गरिरहेका किसानलाई व्यवसायिक रुपमा तोरी खेती गर्न उत्प्रेरित गर्ने, तोरीको उत्पादन बढाउने, बजारीकरण गर्ने र गाउँपालिकालाई खाने तेलमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ तोरी किसान अनुदान कार्यक्रमअघि सारिएको हो । गाउँपालिकाको गौरवको योजनाका रुपमा ल्याइएको तोरी खेती प्रवर्द्धन कार्यक्रमले कृषकको आयआर्जनमा टेवा पुग्नुका साथै वातावरण सन्तुलनमा समेत सहयोग पुग्ने दावी गरिएको छ । खपत भएपछि बाँकी रहेको तोरीको तेललाई निर्यात गर्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

तोरी खेती प्रोत्साहन अनुदानका लागि गाउँपालिकाले तोरी खेती सुचीकरण फारमदेखि निवेदनको ढाँचा तयार पारेको छ । अनुसूची फराममा किसानको नाम, ठेगाना, कित्ता नम्बर, क्षेत्रफल उल्लेख गर्नुपर्ने छ । तोरी खेती प्रोत्साहन अनुदानका लागि दुई सयभन्दा बढी किसानको आवेदन परेको गाउँपालिकाले जनाएको छ । सात वडा रहेको केपिलासगढी गाउँपालिकाका सबैजसो ठाउँमा तोरी खेती हुन्छ । कतिपय किसानले तेलकै लागि तोरी खेती लगाउने गरेका छन् । हालको जनसंख्यालाई आधार मान्दा केपिलासगढीमा बार्षिक साँढे छ करोडदेखि सात करोडको हाराहारीमा खाने तेल भित्रिने गरेको छ ।

Logo