बैंकहरुको मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको छः गभर्नर अधिकारी

बैंकहरुको मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको छः गभर्नर अधिकारी


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको बताएका छन् । 

सोमवार ग्लोवल आईएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार शुरु भएको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले बैंक, वित्तीय संस्थाहरु मर्जर हुनुले वित्तीय प्रणाली थप सुरक्षित र संस्थाहरु स्वस्थ र सबल बन्ने बताए । उनले बैंकहरुको लगानी अब राष्ट्रिय उत्पादनमा बढी प्राथमिकता हुनुपर्ने बताए । 

गभर्नर अधिकारीले बैंकहरूले मर्जरले ठूलो बन्दै गएपछि बैंकहरू स्वनियमनमा बस्नुपर्ने बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुले सानो कर्जालाई प्राथमिकता दिनुपर्ने पनि बताए । 

उनले भने, ‘यो सालमात्रै १४ वटा बैंक मात्रै मर्जर भएको अवस्था छ । मर्जरमा राम्रो उपलब्धि भएको छ । बैंकहरु ठूला र संस्थाहरु मर्जर भइराख्दा बैंक वित्तीय संस्था आफैँमा सेल्फ रेगुलेशनमा पनि बेसी जानुपर्ने, आफ्नै नियमन बढाउनुपर्ने, बैंकसँग भएको रिसोर्सलाई धेरै भन्दा धेरै उत्पादनमुलक क्षेत्रमा लगाउनुपर्ने राष्ट्र बैंकले एक खालको नियम ल्याएको छ । त्यो नियम भन्दापनि आफैँ प्रोएक्टिभ्ली राष्ट्रिय उत्पादनमा बढी लाग्नुपर्ने हाम्रो रिसोर्स परिचालनमा त्यो आवश्यक्ता हामीले देखेका छौँ । बैंक वित्तीय संस्थाहरुले सानो कर्जालाई प्रमोट गर्नुपर्छ ।’
 
गभर्नर अधिकारीले बैंक मर्जरमा यस वर्ष राम्रो उपलब्धि भइरहेको पनि बताए । वित्तीय साक्षरतासँगसँगै वित्तीय कारोबार बढ्ने अपेक्षा धेरै बैंक हुँदा गरिएको भएपनि त्यो पूरा नहुँदा राष्ट्र बैंकले मर्जरको नीति लिनुपरेको स्पष्ट पारे ।

Logo