नारायणी नदीमा आजदेखि पानी जहाज चल्ने

नारायणी नदीमा आजदेखि पानी जहाज चल्ने


चितवनको नारायणी नदी किनारमा आजदेखि क्रुज सीप (पानीजहाज) चल्ने भएको छ ।

राइनो वाटर इन्टरटेनेमेन्ट प्रालिले एक विज्ञप्ति जारी गर्दै माघ १ गतेदेखि क्रुज सीप सञ्चालनमा आउन लागेको जानकारी दिएको हो । करिब २ वर्ष पहिले नै क्रुज सीपको परीक्षण गरिएको थियो । कोभिड महामारीका र केही नीतिगत व्यवधानका कारण क्रुज सीप सञ्चालनमा आउन सकेको थिएन । अहिले सबै प्रक्रिया पुरा गरेर क्रुज सीप सञ्चालनमा ल्याउन लागिएको कार्यकारी निर्देशक दीपक ढुङ्गेलले जानकारी दिए । उनले आइतबार दिउँसो १ बजे विशेष क्रुजिङको समय रहेकाले सोही समयलाई साइत मानेर सञ्चालन गर्ने बताए ।

तीन तलाको क्रुज सीपमा १८० जना अट्ने छन् । यसको कुल क्षमता भने २०० रहेको छ । यसमा यात्रा गर्ने सबै यात्रुहरूको १० लाख रुपैयाँ बराबरको बिमा गरिएको छ । क्रुज सीपको टिकट दर सात सय रहेको छ । ब्रेकफास्ट क्रुजिङको एक हजार पाँच सय, लन्च क्रुजिङ  दुई हजार, डिनर क्रुजिङ दुई हजार पाँच सय रहेको छ ।

भरतपुर महानगरपालिकाको वडा नं. १६ मंगलपुर काभ्रे घाटबाट देवघाटसम्म सञ्चालनमा आउने भने पनि अहिले पानीको सतह कम भएकाले तत्काल छोटो दुरीमा सञ्चालनमा आउने जनाएको छ । नदीले पानीको धार परिवर्तन गरेकाले छोटो दुरीमा मात्र सञ्चालनमा आउने भएको हो । सिपमा विवाह, पार्टी, कुनै कार्यक्रम गर्न मिल्ने गरी स्थान निर्माण गरिएको छ । जल पर्यटनलाई यस सिपले नयाँ टेवा पुग्ने राइनो वाटर इन्टरटेनेमेन्ट प्रा.लि.ले जनाएको छ । नारायणगढको पुलचोकबाट करिब ९ किलोमिटर दक्षिणमा रहेको काभ्रे घाटमा सिपको स्टेसन रहेको छ  । 

Logo