२८औंं संस्करणको क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा

२८औंं संस्करणको क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा


कम्प्युटर एशोसिएशन नेपाल महासंघले २८औंं संस्करणको क्यान इन्फोटेक माघ २४ गतेदेखि सञ्चालन गर्ने भएको छ । 

महासंघले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । महासंघका अनुसार क्यान इन्फोटेक २०२३ माघ २४ गतेबाट २९ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ । महासंघले क्यान महासंघले आयोजना गर्ने देशकै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै कम्प्युटर एशोसिएशन नेपाल महासंघका महासचिव चिरञ्जीवि अधिकारीले यो पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर पे वेलमार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने बताए । उनले सर्वसाधारणका लागि १ सय र विद्यार्थीहरुका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरिएको समेत बताए । 

उनले प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय  सूचना तथा सञ्चार प्रविधिसम्बन्धित कम्पनीहरुको सहभागिता रहने बताए । यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन गर्ने उनले बताए ।  

उनले क्यान इन्फोटेककै दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेण्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुने बताए । 

महासंघले इन्फोटेकका लागि हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको र यस संस्करणको इन्फोटेक मेलालाई करिव साढे ३ लाख मानिसले अवलोकन गर्ने अपेक्षा राखेको छ । 

महासंघले प्रदर्शनीले डिजिटल नेपालको अभियानलाई समेत सहयोग पुगने विश्वास राखेको छ । 

काठमाडौंमा प्रदर्शनी सकिएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुने महासचिव अधिकारीले बताए । उनकाअनुसार मधेस प्रदेशमा फागुन ५ देखि फागुन ९, सुदूरपश्चिममा फागुन १३ देखि फागुन १७, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३०, वागमती प्रदेशमा चैत्र २ देखि चैत्र ६ र प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै क्यान इन्फोटेक आयोजनाको मिति घोषणा हुनेछ । 
महासंघले सन् १९९५ देखि क्यान इन्फोटेकको शुरुवात गरेको थियो । 

Skip This
Logo