‘स्वाद अलैंचीको, मीठास नेपालको’ -परम्परागत र फ्युजन नेपाली परिकारहरुको रेसिपी बुक

‘स्वाद अलैंचीको, मीठास नेपालको’ -परम्परागत र फ्युजन नेपाली परिकारहरुको रेसिपी बुक


वाह! अलैंची अभियानले नेपालको विशिष्ट उत्पादन अलैंचीको प्रयोग गरी तयार गरिने परम्परागत र फ्युजन नेपाली रेसिपीसहितको पहिलो रेसिपी बुक सार्वजनिक गरेको छ।
 
पुस्तकमा मास्टरशेफ सन्तोष शाह र प्रशिक्षार्थी तथा अन्य शेफहरुबाट विशेष रुपमा छानिएका ४० भन्दा बढी रेसिपीहरु समावेश गरिएका छन्। साथै रेसिपी बुकमा सेकुवा, चिया  र खीर जस्ता सदाबहार व्यञ्जनहरुका लागि आवश्यक मसलाहरु तयार गर्ने विधि पनि समावेश गरिएको छ।

यस पुस्तकमा समावेश गरिएका रेसिपीहरु, वाह अलैंची अभियान अन्तर्गत पहिलो चरणमा आयोजना गरिएको प्रशिक्षार्थीहरु बीचको खाना बनाउने प्रतियोगिताबाट संकलन गरिएको हो।

सो प्रतियोगितामा अलैंचीलाई मुख्य सामग्रीको रुपमा प्रयोग गरिएको थियो जसमा विराटनगर, सौराहा र काठमाडौंका हाटेलहरुका प्रोफेसनल शेफ तथा कलिनरी विद्यालयका युवा प्रशिक्षार्थीहरु उत्साहका साथ सहभागी भएका थिए। प्रत्येक रेसिपीलाई काठमाडौंका प्रोफेसनल शेफहरुको टोलीद्वारा सावधानीपूर्वक चयन एवं परीक्षण गरिएको थियो। 

सन् २०२२ जुलाई महिनामा नेपाल अलैंची व्यवसायी महासंघले उद्योग, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ र स्वीस सरकार विकास सहयोग (स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन)को सहयोगमा हाटेल एसोसिएसन नेपालसँगको सहकार्यमा, वाह अलैंची अभियान शभारम्भ गरिएको थियो।

यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्ता माझ अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्नमा केन्द्रित रहेको छ। साथै, यो अभियानले नेपाली घरपरिवारलाई अलैंचीको फाइदा र स्वादबारे जानकारी गराउने लक्ष्य राखेको छ।

हाल दोस्रो चरणमा रहेको वाह अलैंची अभियानले नेपाली बजार र घरघरमा अलैंचीको प्रयोग र उपयोगलाई प्रवर्द्धन गर्ने भएको छ। यो अभियानमा अलैंचीलाई प्रवर्द्धन गर्न प्रमुख सरोकारवालाहरुसँगको सहकार्यमा केन्द्रित हुने छ र साथै रेसिपी बुकको प्रवर्द्धन गर्न सञ्चार माध्यम, निजी क्षेत्र र होटल  एसोसिएसनसँग पनि काम गर्ने उल्लेख गरिएको छ।

Logo