अर्थतन्त्रमा देखिएका समस्या सामाधान गर्न खर्च कटौती पर्याप्त छैन -अर्थमन्त्री पौडेल

अर्थतन्त्रमा देखिएका समस्या सामाधान गर्न खर्च कटौती पर्याप्त छैन -अर्थमन्त्री पौडेल


उप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले सार्वजनिक गरेको खर्च कटौती प्रस्तावले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न प्रयाप्त नरहेको बताएका छन् ।

बुधबार आर्थिक मिडिया सञ्चालक संघले आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । मन्त्री पौडेलले भने, ‘सरकारले मंगलबार सार्वजनिक गरेको खर्च कटौतीले मात्र आजका समस्या समाधान गर्दैन त्यस कारण अझ अघि बढेर आवश्यक निर्णग गर्न सुझाव आएका छन् । यो निर्णय समस्या समाधानका लागि पर्याप्त छैन । म आफैँ त्यसमा सहमत छु । अरु प्रभावकारी कदम चाल्न जरुरी छ । कुन दिशातर्फ सोचेका छौँ भन्ने मात्र जनाएको हो । यो निर्णय आउने दिनमा राज्यको खर्च कटौतीको सन्दर्भमा प्रभावकारी निर्णय लिँदै जान्छौँ भन्नेतर्फ जानलाई आरम्भ हो ।’

यसका साथै अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटको थालनी गरेको बताउँदै आगामी आर्थिक वर्षको बजेट ल्याउँदा र चालु आर्थक वर्षको बाँकी अवधिका लागि बजेट खर्च गर्दा सरकारको क्षमता र आवश्यकता हेरेर अघि बढ्ने समेत बताएका छन् । उनले सरकारले बजेट नीतिगत फड्को (पोलिसी डिपार्चर) लाई केन्द्रमा राख्दै वास्तविकताको आधारमा ल्याउने बताए ।

उनले भने, ‘आगामी आवको स्रोतको अनुमान र बजेटको आकार माथि छलफल सुरु भइसकेको छ । अहिलेकै अवस्थामा अघि बढ्ने नभई पोलिसी डिपार्चर आवश्यक छ भनेर विभिन्न क्षेत्रबाट सुझाव आइरहेका छन् । त्यसमा विशेष ध्यान दिएर बजेटको आकारमा यथार्थपरकता खोज्नेछौँ ।’ अर्थ मन्त्रालयले मंगलबार खर्च कटौती र खर्च रोक्का गर्ने १४ बुँदे निर्देशन गरेको थियो ।
 

Logo