…जसले नेपालमा भारतीय मुद्रा चलनकाे अन्त्य गरे

…जसले नेपालमा भारतीय मुद्रा चलनकाे अन्त्य गरे


नेपाली बैंकिङ क्षेत्रको इतिहासले सँधै सम्झिने नाम हो- हिमालय शमशेर जबरा । उनको निधन भएसँगै नेपाली बैंकिङ क्षेत्रको एक युग अन्त्य भएको छ । नेपाली नोटमा पहिलो हस्ताक्षर गर्ने अवसर पाएका राणा नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हुन् । राणा नेपालको पहिलो अर्थसचिवसमेत हुन् । 

पिता जर्नेल लक्ष्मण शमशेर जबरा र माता विजयालक्ष्मीको कोखबाट जन्मिएका राणाले भारतको बम्बईस्थित स्कुल अफ इकोनोमिक्स एण्ड सोसिओेलोजीबाट अर्थशास्त्रमा स्नातकोत्तर तह पूरा गरेका थिए । २००८ सालबाट ५ वर्ष देशको पहिलो अर्थसचिवका रूपमा अर्थ मन्त्रालय सम्हालेका उनले अन्य निकायहरूका संस्थापकको रूपमा समेत काम गरेका थिए ।

राणा २९ वर्षको उमेरमा २०१३ बैंशाख १४ गते नेपाल राष्ट्र बैंकको गर्भनर बनेका थिए । उनी २०१३ वैशाखदेखि २०१७ माघसम्म राष्ट्र बैंकको गभर्नर रहे । उनी गर्भनर हुँदा बैंकिङ क्षेत्रमा उल्लेखनीय सुधार आएको थियो । उनले भारतीय रुपैँयामा कारोबार गरिने नेपालको तराई क्षेत्रमा नेपाली रुपैयाँ चलनचल्तीमा स्थापित गर्न सफल भए । उनले नेपाल राष्ट्र बैङ्क स्थापना गरी मुलुकभर एउटै मुद्रा चलनचल्तीमा ल्याएका थिए । तत्कालीन समयमा तराईमा नेपाली मुद्रा चलनचल्तीमै थिएन । मालपोत र अध्यागमनमा पनि भारतीय मुद्रा नै चल्थ्यो । यस्तो अवस्थामा भारतीय मुद्राको साटो नेपाली नोट चलनचल्तीमा ल्याउनु निकै चुनौतीपूर्ण काम थियो । यसका लागि तीन वर्षसम्म जबराले काम गरे ।    

नेपाली मुद्रा र भारतीय मुद्राको सटही दर स्थिर नहुँदासम्म नेपाली मुद्रा चलनचल्तीमा ल्याउन गाह्रो हुने निष्कर्षपछि जबराको पहलमा इलामदेखि पश्चिमसम्म विभिन्न सटही केन्द्र सुरु गरिएको थियो । तीन वर्षको अध्ययनपछि भारतीय १०० बराबर नेपाली मुद्रा १६० रुपैयाँ कायम हुने गरी सटही दर निर्धारण गर्ने सहमति भयो । जुन आजसम्म पनि कायमै छ ।

गर्भनरको कार्यकाल सकिएपछि उनले हिमालयन बैंक स्थापना गरे । उनले २०५० सालमा पाकिस्तानको हबिव बैंकसँग सहकार्य गरेर नेपालमा निजी क्षेत्रको पहिलो कमर्सियल बैङ्कको स्थापना गरेका थिए । हिमालयन बैंकको स्थापनाअघि निजी क्षेत्रको बैंक नभएकै कारण सर्वसाधारणमा बैंकको पहुँच थिएन । न बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा थियो । त्यसले उनले बैंकहरूलाई प्रतिस्पर्धी बनाउँदै आज नेपालको ९० प्रतिशत क्षेत्रमा बैकिङ सुविधा पुग्नुमा प्रमुख भूमिका खलेको मान्न सकिन्छ । नोट विस्तारदेखि राष्ट्र बैंकको स्थापना र तराईलाई नेपाली अर्थतन्त्रसँग जोड्दै वित्तीय विकासमा उनको भूमिका उल्लेखनीय रहको छ । 

बैंकिङबाहेक उनी अन्य क्षेत्रमा पनि उस्तै सक्रिय थिए । २०४७ सालदेखि आम निर्वाचन परिवेक्षण समितिको नेतृत्व गर्दै आइरहेका थिए । मुलुकको अर्थतन्त्र र कूटनीतिक क्षेत्रमा पहिचान बनाएका राणाको ९५ वर्षको उमेरमा निधन भयो । निमोनियाबाट पीडित उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

Skip This
Logo