के हुन् क्यान इन्फोटेक २०२३ का मुख्य आकर्षण ?

के हुन् क्यान इन्फोटेक २०२३ का मुख्य आकर्षण ?


कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) को आयोजनामा मंगलबार सुरु भएको इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३’ भृकुटीमण्डपमा जारी छ । प्रदर्शनी हलमा ६ दिनसम्म चल्ने मेलामा अनलाइन गेमिङ, कृषि, पर्यटन, हस्पिटालिटीलगायत क्षेत्रमा प्रयोग हुने प्रविधिहरु हरेक व्यक्तिको आकर्षण बन्न पुगेका छन् । मेलामा स्टार्टअप, इनोभेसन, कलेज तथा तालिम केन्द्रहरू, सफ्टवेयर सोलुसन्सका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनीका लागि विशेष स्थान दिइएको छ । 

मेलामा कुल २०० स्टलहरु रहेका छन् । प्रदर्शनीस्थलमा रहेको ब्रान्डिङ कक्षमा देश/विदेशका विभिन्न कम्पनी एवं ब्रान्डहरू राखिएको छ । यसअन्तर्गत फिन्टेक, इन्टरनेट सेवाप्रदायक, टेलिकम सेवाप्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्सलगायत छन् । अन्य इन्फोटेक मेलाको तुलनामा यस वर्षको मेलामा युवाहरूको क्रेज बढेको पाइएको छ । 

सन् १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेक मेला आयोजना गर्दै आइरहेको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरुपमा आयोजना हुने इन्फोटेक मेला मुलुककै ठूलो प्रदर्शनीका रुपमा स्थापित भएको छ । मेलामा रहेका स्टलहरुमध्ये गेमिङ तथा एनिमेसनका स्टलहरुमा युवाहरुको विशेष भिड लाग्ने गरेको छ । अहिलेको पुस्तालाई मन पर्ने अनलाईन गेमिङलाई केन्द्रमा राखेर स्टलका मालिकहरुले गेमिङका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु  राखेको छ । बजार मूल्यभन्दा १० प्रतिशतसम्म छुट तथा विभिन्न आकर्षक अफरहरु ल्याएको रेस्ट्रोनिक्स कम्प्युटरका म्यानेजर बासुदेव सुवेदी बताउँछन् । एमएसआई ब्रान्डका गेमिङ उत्पादनहरु बेच्दै आएका मेनेजर सुवेदी आफ्ना उत्पादन गेमर, कन्टेन्ट क्रिएटर, डिजाइनर, प्रोफेनल युजर, विद्यार्थी र ब्यापारिक ब्यक्तिहरुलाई ध्यानमा राखी प्रदर्शन गरिएको बताउँछन् । मेनेजर सुवेदीले गेमिङका लागि आवश्यक पर्ने ल्यापटप, मोनिटर ग्राफिक कार्ड, किबोर्ड, माउस, हेडसेट र मदरबोर्डहरुलाई आफ्नो स्टलमा राखेको बताउँछन् । समग्रमा सुवेदीको स्टलमा एक गेमरलाई आवश्यक पर्ने सम्पूर्ण उत्पादनहरु राखिएको छ । सुवेदीले मेलाकै लागि भनेर विशेष ग्राफिक्स कार्ड र नयाँ सिरिजको मदरबोर्डहरु ल्याएको बताउँछन् । 

विद्यार्थी तथा ब्यापारिक प्रायोजनका लागि ल्यापटको मुल्य १ लाखबाट सुरु हुने र गेमरहरुका लागि ल्याइएको ल्यापटपको मूल्य तीन लाखदेखि साढे तीन लाखसम्म मूल्य भएको मेनेजर सुबेदी बताउँछन् । गेमरहरुलाई ध्यानमा राखी २० देखि ८० हजार पर्ने कर्भ मोनिटर मेलामा राखेको सुबेदी बताउँछन् । एमएसआईका आधिकारिक उत्पादन बेच्दै आएका सुबेदी आफ्नो स्टलमा विश्वस्तरीय उत्पादन पाइने दाबी गर्छन । सोही कारण सुबेदी आफ्नो सामग्रीको मूल्यमा कुनै पनि सम्झैता नगरेको बताउँछन् । 

यसैगरी बेनक्यु ब्रान्डले मेलामा डिस्प्लेहरुलाई प्रदर्शनका रुपमा राखेको छ । बेनक्यु ब्रान्डकी साउथ एसियाका सिनियर मार्केटिङ म्यानेजर अंकिता कर्वा भन्छिन्- “मेलाका लागि तीन उत्पादन मोनिटर, प्रोजेक्टर र इन्टरयाक्टिभ भिडाइसहरु राखेको बताउँछिन् ।” घरायसी प्रयोजन, अफिस, गेमिङ र ई–गेमिङका लागि विभिन्न प्रकारका मोनिटर ल्याएको उनी बताउँछिन् । गेमर, प्रोफेसनल वर्कर, ग्राफिक डिजाइनर, फोटोग्राफर र घर तथा अफिसियल कार्यका लागि मोनिटरहरु राखिएको उनी बताउँछिन् । त्यससँगै विश्वकै एक नंबर प्रोजेक्टर ब्रान्ड पनि आफूहरुले मेलामा राखेको दाबी म्यानेजर कर्वा गर्छिन् । 

मेलामा विभिन्न प्रकारहरुमा पोर्टेबल र होम इन्टरटेनमेन्टका लागि प्रयोग हुने प्रोजेक्टरहरु राखिएको छ । म्यानेजर अंकिता भन्छिन्- टीभीभन्दा धेरै सस्तो अर्थात मोनिटरको मूल्य २० देखि २५ हजारबाट सूरु हुने गर्छ । त्यसैगरी प्रोजेक्टरहरुको मुल्य ५० हजारबाट सूरु भई २० लाखसम्म पर्ने बताउँछिन् । आफूसँग भएको प्रोजेक्टर सिनेमाहलहरुमा प्रयोग हुने म्यानेजर अंकिता भन्छिन् । 

यसैगरी मेलामा माया एनिमेसन एकेडेमीको पनि सहभागिता रहेको छ । प्रविधिको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै डिजाइन, एनिमेसन, टु डी र थ्रीडीका बारेमा जानकारी दिइरहेका माया एनिमेसन एकेडेमीका स्टुडियो निर्देशक स्वीस बलामी भन्छन्- “मेलामा आएका आगन्तुक सबैलाई मल्टिमिडिया र डिजाइनिङ क्षेत्रको जानकारी दिन्छौं ।” एक देखि दुई वर्षको एनिमेसन कोर्स भएको बलामी बताउँछन् । सो समयावधिमा ग्राफिक डिजाइन, थ्रिडी मोडल एनिमेसन, टुडी मोडल एनिमेसन, भिजुअल आर्ट र भीएफएक्स लगायत कोर्सहरु सिक्न सक्नेछन् । अहिलेको आधुनिक समाजमा सबै युवाहरुलाई प्रविधिमैत्री बन्न बलामी सुझाउँछन् ।

यसैगरी एसर ब्रान्डका सोल डिस्ट्रयुब्युटर मर्केन्टाइल सिस्टम प्रा.लि का सेल्स एण्ड मार्केटिङ मेनेजर पवन प्रधानका अनुसार आफूहरुले ल्याएको सामग्रीहरुमा पूर्णतया विश्वास गर्न सकिने बताउँछन् । घरायसी, अफिसियल प्रयोग र गेमिङ लगायत सबै क्षेत्रलाई ध्यानमा राखी मेलामा उत्पादनहरु राखेका छन् । आफ्नो सामानको मूल्य केही बढी भएता पनि मूल्यलाई जस्टिफाई गर्ने म्यानेजर प्रधान बताउँछन् । 

यसैगरी मेलामा एक्स एज ब्रान्डहरु पनि राखिएको छ । एक्स एज ब्रान्डका हेड फोन, स्पिकर, टिभी, पावर ब्याङ्क र स्मार्ट वाचहरुमा बजार मूल्यभन्दा १० प्रतिशत कम मूल्यमा बेचिरहेको बताउँछन् । एक्स एज ब्रान्डका बिक्रि प्रबन्धक श्रीमन चौरसिया गेमिङकै लागि भनेर एक्स एज ब्रान्डले हेड फोन लगायत गेमिङका लागि आवश्यक पर्ने अन्य वस्तुहरुलाई एक सय पचाँस देखि ५ हजार मूल्यमा बेचिरहेको बताउछन् । यसैगरी टीभीहरुमा १२ हजारदेखि ७५ हजार मुल्यका सामानहरु आफ्नो स्टलमा राखिएको बताउँछन् । 

भ्यूसोनिक र फिलिप्स ब्रान्डका बिक्री प्रबन्धक अखिल महतरा आफनो स्टलमा गेमिङ किबोर्ड र माउसहरु राखिएको बताउँछन् । विशेषगरी अनलाईन गेमिङ गर्न रुचाउने मानिसहरुलाई लक्षित गरी मेलामा सहभागिता जनाएको महतरा बताउँछन् । मेलामा आफ्नो उत्पादन बेच्नभन्दा पनि जानकारीका लागि राखिएको बताउने महतरा यदि कोही आफ्नो सामग्री किन्न चाहेमा मेला अवधिभर २५ प्रतिशतसम्म छुट दिने 
बताउँछन् । 

यसैगरी भ्युसोनिक र क्लाउड लिङ्कको स्टोरमा मोनिटर र प्रोजेक्टरहरु बिक्रिका लािग राखिएको छ । मेलामा १९ देखि ३२ इन्चसम्मको मोनिटर राखेका भ्युसोनिक र क्लाउड लिङ्कका बिक्री प्रबन्धक विजन महतारा बताउँछन्- “गेमरहरुका लागि नै भनेर विशेष पोर्टेबल मोनिटर ल्याइएको छ ।” यसैगरी पावर ब्याकअफ र ब्लुटुथ भएको प्रोजेक्टर पनि पहिलो पटक मेलाकै दैरान राखिएको महतारा बताउँछन् । महतरा पनि आफ्नो सामग्रीहरु बेच्नुभन्दा पनि जानकारी र प्रदर्शनका लागि राखेको बताउँछन् । आफ्नो सामग्री बेच्नभन्दा पनि प्रबद्र्धनका लागि राखिएको महतरा बताउँछन् । 

६ दिन चल्ने मेलामा टीभी, मोनिटर, प्रोजेक्टर, माउस, किबोर्ड, मदर बोर्ड लगायत धेरै इलेक्ट्रिक सामग्रीहरु प्रदर्शन तथा बिक्रिका लागि राखिएको छ । नेपालकै सबैभन्दा ठूलो विद्युतीय मेलामा तीन दिन भित्र १ लाखको हाराहारीमा अवलोकनकर्ताहरुले मेला हेरिसकेको आयोजक पक्षले बताएको छ । विश्वमा भित्रिएका आधुनिक तथा आश्चर्य लाग्ने विभिन्न प्रकारका उत्पादनहरुको प्रदर्शन गर्दै आइरहेको क्यान इन्फोटेक मेला अवलोकनका लागि सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । इन्फोटेकको टिकेटिङ पार्टनर पेवेलको मोबाइल एप डाउनलोड गरी एपबाटै २५ रुपैयाँमा टिकट खरिद गर्न सकिने व्यवस्था रहेको छ ।

Logo