किन हुन्छ बैंकले प्रकाशित गरेको र राष्ट्र बैंकद्धारा पारित भएको नाफामा अन्तर ?

किन हुन्छ बैंकले प्रकाशित गरेको र राष्ट्र बैंकद्धारा पारित भएको नाफामा अन्तर ?


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले हरेक त्रैमासको अन्तिममा वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ । कम्पनीहरुले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ का अनुसार वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने व्यवस्था छ । त्यसैले नेप्सेमा सूचीकृत सम्पूर्ण कम्पनीले हरेक त्रैमासको अन्तिममावित्तीय विवरणसार्वजनिक गर्ने गरेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको विवरणलाई आधार मानेर सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुले सेयर किनबेच गर्ने गर्दछन् । 

गत आर्थिक वर्ष बाणिज्य बैंकहरुले पत्रपत्रिकामार्फत् सार्वजनिक गरेकोे नाफा र नेपाल राष्ट्र बैंकले पारित गरी लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरेको नाफामा धेरै फरक देखिएको छ । राष्ट्र बैंकबाट साधारणसभा गर्ने अनुमति पाएर लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेका २४ बैंकमध्ये २१ बैंकको नाफा पत्रिकामा भन्दा घटेको छ । गत अर्थिक वर्ष २४ वाणिज्य बैंकले पत्रपत्रिकामा प्रकाशित गरेको भन्दा राष्ट्र बैंकले पारित गरेको नाफामा११.२९ प्रतिशतले अन्तर देखिएको छ । पत्रपत्रिका र लेखापरीक्षण प्रतिवेदनको नाफामा ठूलो अन्तर देखिनुमा कम्पनीले सेयरधनीलाई बास्तविक तथ्यांक नदिएको हुनसक्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

राष्ट्र बैंकका अनुसार बैंकहरुले खराब कर्जालाई कम प्रोभिजन गर्दा आम्दानी बढेको देखिने हो । 

सिभिल बैंक
गत आर्थिक वर्षमा सबैभन्दा धेरै नाफा अन्तर हुनेमा सिभिल बैंक अग्रस्थानमा रहेको थियो ।बैंकले पत्रिकामा १ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको विवरण प्रकाशित गरेको थियो । लेखापरीक्षण प्रतिवेदनमा पत्रिकामा प्रकाशित गरेको भन्दा २७.७१ प्रतिशतले नाफा घटेर १अर्ब रुपैयाँ कायम भएको छ । गतवर्ष बैंकले नियम विपरित असुल गरेको ११ करोड २० लाख रुपैयाँ ब्याज फिर्ता गर्नुका साथै खराब कर्जामा प्रोभिजन बढ्दा बैंकको नाफा घटेको हो ।

प्रभु बैंक
सिभिल बैंकपछि सबैभन्दा धेरै नाफा अन्तर हुनेमा प्रभु बैंक दोस्रो स्थानमा छ ।  प्रभुको लेखापरीक्षण प्रतिवेदनमा २६.८५ प्रतिशतले नाफा घटेर १ अर्ब ९० करोड रुपैयाँ कायम भएको छ । बैंकले पत्रिकामा २ अर्ब ६० करोड रुपैयाँ नाफा देखाएको थियो । गतवर्ष प्रभुले नियमविपरित असूल गरेको १५ करोड रुपैयाँ ब्याज फिर्ता गर्नुका साथै राष्ट्र बैंकले थप ५० करोड रुपैयाँ प्रोभिजन गरिदिएपछि बैंकको नाफा घटेको हो ।

मेगा बैंक
मेगा बैंकको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा २५.८६ प्रतिशतले नाफा घटेको छ । पत्रिकामा २ अर्ब ८३ करोड रुपैयाँ नाफा देखाएको मेगाको अन्तिम वित्तीय विवरणमा २ अर्ब ९ करोड रुपैयाँ नाफा कायम भएको छ ।गतवर्ष बैंकले १० करोड ६० लाख नियमविपरित असूल गरेको ब्याज फिर्ता गर्नुका साथै बैंकको खराब कर्जा बढ्दा लेखापरीक्षण प्रतिवेदनमा नाफा घटेको हो ।

सेन्चुरी बैैंक
सेन्चुरी बैैंकको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा २५.०९ प्रतिशतले नाफा घटेको छ । सेन्चुरीले पत्रिकामा १ अर्ब ३५ करोड रुपैयाँ नाफा देखाएकोमा लेखापरीक्षण प्रतिवेदनमा ३४ करोड रुपैयाँले घटेर १ अर्ब १ करोड रुपैयाँ नाफा कायम भएको छ । गतवर्ष ६ करोड ५० लाख रुपैयाँ बढी असूल गरेको ब्याज फिर्ता गर्नुका साथै केन्द्रीय बैंकले प्रोभिजन थप गरेपछि सेन्चुरीको नाफा घटेको हो ।

प्राइम बैंक
प्राइम बैैंकको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा २४.२८ प्रतिशतले नाफा घटेको छ । प्राइमले पत्रिकामा ३ अर्ब ६८ करोड रुपैयाँ नाफा देखाएकोमा लेखापरीक्षण प्रतिवेदनमा ८९ करोड ३० लाख रुपैयाँले घटेर २ अर्ब ७८ करोड रुपैयाँ नाफा कायम भएको छ । गत वर्ष २६ करोड रुपैयाँ बढी असूल गरेको ब्याज फिर्ता गर्नुका साथै केन्द्रीय बैंकले प्रोभिजन थप गरेपछि बैंकको नाफा घटेको हो ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा २१.९४ प्रतिशतले नाफा घटेर१ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ । बैंकले पत्रिकामा २ अर्ब १६ करोड रुपैयाँ नाफा देखाएको थियो । गत वर्ष बैंकले ११ करोड ७० लाख नियम विपरित असुल गरेको ब्याज फिर्ता गर्नुका साथै बैंकको खराब कर्जा बढ्दा लेखापरीक्षण प्रतिवेदनमा नाफा घटेको हो ।

राष्ट्रिय बाणिज्य बैंक
राष्ट्रिय बाणिज्य बैंकको लेखापरीक्षण प्रतिवेदनमा १७.६७ प्रतिशतले नाफा घटेर ४ अर्ब २९ करोड रुपैयाँमात्रै नाफा कायम भएको छ ।बैंकले पत्रिकामा ५ अर्ब २१ करोड रुपैयाँ नाफा देखाएको थियो । गत वर्ष बैंकले नियम विपरित असूल गरेको २४ करोड ५० रुपैयाँ ब्याज फिर्ता गर्नुको साथै प्रोभिजन थप गरिदिएपछि बैंकको नाफा घटेको हो ।

एनसीसी बैंक
एनसीसी बैंकको अन्तिम लेखापरिक्षण प्रतिवेदनमा १७.३२ प्रतिशतले नाफा घटेर १ अर्ब ६७ करोड रुपैयाँ नाफा कायम भएको छ । एनसीसीले पत्रिकामा २ अर्ब २ करोड रुपैयाँ नाफा देखाएकोमा थियो । गत वर्ष ८ करोड ५० लाख रुपैयाँ बढी असूल गरेको ब्याज फिर्ता गर्नुको साथै केन्द्रीय बैंकले प्रोभिजन थप गरेपछि एनसीसीको नाफा घटेको हो ।

नबिल बैंक
नबिल बैंकको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा १४.४० प्रतिशतले नाफा घटेर ४ अर्ब २५ करोड रुपैयाँ नाफा कायम भएको छ ।नबिलले पत्रिकामा ४ अर्ब ९७ करोड रुपैयाँ नाफा देखाएको थियो । गत वर्ष ४७ करोड रुपैयाँ बढी असूल गरेको ब्याज फिर्ता गर्नुका साथै केन्द्रीय बैंकले प्रोभिजन थप गरेपछि नबिलको नाफा घटेको हो ।

एनएमबि बैंक
एनएमबि बैंकको अन्तिम लेखापरिक्षण प्रतिवेदनमा १४.४ प्रतिशतले नाफा घटेर ३ अर्ब २९ करोड रुपैयाँ नाफा कायम भएको छ । बैंकले पत्रिकामा ३ अर्ब ७० करोड रुपैयाँ नाफा देखाएको थियो । गत वर्ष बैंकले १६ करोड ३० लाख नियमविपरित असूल गरेको ब्याज फिर्ता गर्नुका साथै बैंकको खराब कर्जा बढ्दा लेखापरीक्षण प्रतिवेदनमा नाफा घटेको हो ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकको लेखापरीक्षण प्रतिवेदनमा १०.९० प्रतिशतले नाफा घटेर २ अर्ब ५ लाख रुपैयाँ भएको छ । बैंकले पत्रिकामा २ अर्ब २५ करोड रुपैयाँ नाफा देखाएको थियो । गत वर्ष नियमविपरित असूल गरेको १२ करोड रुपैयाँ फिर्ता गर्नुको साथै केन्द्रीय बैंकले प्रोभिजन थप गर्दा बैंकको नाफा घटेको हो । 

नेपाल बैंक
नेपाल बैंकको पनि लेखापरिक्षण प्रतिवेदनमा १०.४९ प्रतिशतले नाफा घटेर २ अर्ब ९२ करोड कायम भएको छ । बैंकले पत्रिकामा ३ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको विवरण सार्वजनिक गरेको थियो । बैंकले १५ करोड रुपैयाँ नियमविपरित असूल गरेको ब्याज फिर्ता गर्नुको साथै प्राभिजन रकम बढ्दा नाफा घटेको हो ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकको लेखापरिक्षण प्रतिवेदनमा ९.८४ प्रतिशतले नाफा घटेर २ अर्ब ९० करोड रुपैयाँ कायम भएको छ । बैंकले पत्रिकामा ३ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको विवरण सार्वजनिक गरेको थियो । बैंकले ३१ करोड रुपैयाँ नियमविपरित असूल गरेको ब्याज फिर्ता गर्नु परेपछि पत्रिका र लेखापरिक्षण प्रतिवेदनको नाफा फरक देखिएको हो ।

कुमारी बैंक
कुमारी बैंकको लेखापरीक्षण प्रतिवेदनमा ९ प्रतिशतले नाफा घटेर २ अर्ब ५७ करोड रुपैयाँ नाफा कायम भएको छ । कुमारीले पत्रिकामा २ अर्ब ८३ करोड रुपैयाँ नाफा देखाएको थियो । कुमारी बैंकले २० करोड रुपैयाँ नियमविपरित असुल गरेको फिर्ता गर्नुको साथै प्रोभिजन रकम समेत बढेपछि नाफा घटेको हो । 

सानिमा बैंक
सानिमा बैंकको लेखापरीक्षण प्रतिवेदनमा ८.७१ प्रतिशतले नाफा घटेको छ । सानिमाले पत्रिकामा २ अर्ब २९ करोड रुपैयाँ नाफा भएको सार्वजनिक गरेको थियो । लेखापरीक्षण प्रतिवेदनमा नाफा २ अर्ब ९ करोड रुपैयाँ कायम भएको छ । सानीमाले ११ करोड रुपैयाँ फिर्ता गर्नुको साथै प्रोभिजन राख्नु पर्ने रकम बढेपछि १९ करोड ९७ लाख रुपैयाँले नाफा घटेको हो । 

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकको लेखापरीक्षण प्रतिवेदनमा ७.०६ प्रतिशतले नाफा घटेर ३ अर्ब ७९ करोड रुपैयाँ कायम भएको छ । इन्भेष्टमेन्ट बैंकले पत्रिकामा ४ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको विवरण सार्वजनिक गरेको थियो । राष्ट्र बैंकले प्रोभिजन रकम थप गर्नुको साथै नियम विपरित असूल गरेको १३ करोड रुपैयाँ फिर्ता गरेपछि नाफा घटेको हो ।

एनआइसी एशियाबैंक
एनआइसी एशिया बैंकको लेखापरीक्षण प्रतिवेदनमा ६.८६ प्रतिशतले नाफा घटेर ४ अर्ब २१ करोड कायम भएको छ । बैंकले पत्रिकामा ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको विवरण सार्वजनिक गरेको थियो । गतवर्ष सबैभन्दा बढी ४८ करोड रुपैयाँ ब्याज फिर्ता गरेको एनआइसी एशिया बैंकको नाफा ३१ करोड रुपैयाँले मात्र घटेको छ । एनआइसी एशियाले राष्ट्र बैंकमा वित्तीय विवरण पठाउँदा स्थलगत अनुगमनका क्रममा गरिएका विभिन्न विषयलाई सम्बोधन गरेकाले पत्रिकामा र लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गरेको नाफामा धेरै फरक नभएको राष्ट्र बैंकका अधिकारी बताउँछन् । 

लक्ष्मी बैंक
लक्ष्मी बैंकको लेखापरीक्षण प्रतिवेदनमा नाफा ५.६१ प्रतिशतले घटेर १ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ । लक्ष्मीले पत्रिकामा १ अर्ब ६० करोड रुपैयाँ नाफा प्रकाशित गरेको थियो । लक्ष्मीले १३ करोड रुपैयाँ नियमविपरित असूल गरेको ब्याज फिर्ता गर्दा नाफा घटेको हो । 

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकको लेखापरीक्षण प्रतिवेदनमा नाफा ४.७४ प्रतिशतले घटेर ४ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । ग्लोबलले पत्रिकामा ५ अर्ब २० करोड रुपैयाँ नाफासार्वजनिक गरेको थियो । बैंकले ४५ करोड ब्याज फिर्ता गरेपछि नाफा २४ करोड ७२ लाख रुपैयाँले घटेको छ । ग्लोबलले पत्रिकामा प्रकाशित गरे भन्दा राष्ट्र बैंकमा फरक वित्तीय विवरण पेश गरेकाले ब्याज फिर्ता गरेको भन्दा नाफा कमले घटेको हो ।

हिमालय बैंक
हिमालय बैंकको लेखापरीक्षण प्रतिवेदनमा नाफा ४.६१ प्रतिशतले घटेर २ अर्ब ३६ करोड रुपैयाँ कायम भएको छ । हिमालयनले पत्रिकामा २ अर्ब २४ करोड रुपैयाँ नाफा सार्वजनिक गरेको थियो । बैंकले १२ करोड रुपैयाँ नियम विपरित असूल गरेको ब्याज फिर्ता गरेपछि नाफा घटेको हो । 

एभरेष्ट बैंक
एभरेष्ट बैंकको लेखापरीक्षण प्रतिवेदनमा नाफा २.६१ प्रतिशतले घटेर २ अर्ब ४७ करोड कायम भएको छ ।बैंकले पत्रिकामा २ अर्ब ५४ करोड रुपैयाँ नाफा प्रकाशित गरेको थियो । एभरेष्ट बैंकले गत वर्ष १५ करोड ४० लाख रुपैयाँ ब्याज फिर्ता गर्दा पनि नाफा ६ करोड ६६ लाख रुपैयाँले घटेको छ । एभरेष्ट बैंकले राष्ट्र बैंकमा वित्तीय विवरण बुझाउँदा पत्रिका प्रकाशितभन्दा फरक विवरण पठाएकाले ब्याज फिर्ता गरेको रकम भन्दा नाफा कमले घटेको हो । 

यस्तै, नेपाल एसबीआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको पत्रिकामा प्रकाशित र अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित नाफा उस्तै छ । एसबिआईले गत वर्ष १ अर्ब ६३ करोड नाफा कमाएको विवरण सार्वजनिक गरेको थियो । बैंकले ६ करोड रुपैयाँ ब्याज फिर्ता गर्दा समेत लेखा परिक्षण प्रतिवेदनको नाफा र पत्रिकामा प्रकाशित नाफा उस्तै भएको हो । यता, स्ट्याण्डर्ड चार्टर्ड बैंकले पत्रिकामा २ अर्ब २६ करोड रुपैयाँ खुुद नाफा सार्वजनिक गरेको थियो । लेखापरीक्षण प्रतिवेदनमा चार्टर्डको नाफा २ अर्ब २५ करोड रुपैयाँ छ । चार्टर्डले ४० लाख रुपैयाँ ब्याज फिर्ता गर्दा नाफामा थोरै फरक आएको हो । 

तर, बैंक अफ काठमाण्डूको नाफा पत्रिकामा प्रकाशितभन्दा २८.२९ प्रतिशतले बढेको छ । बैंकको चिनियाँ ठेकेदार कम्पनीसँग फसेको ८४ करोड रुपैयाँ असूल भएकाले पत्रिकामा प्रकाशित गरेको नाफाभन्दा लेखापरिक्षणको नाफा ५१ करोड २२ लाखले बढेको हो ।बैंकले पत्रिकामा १ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएको विवरण सार्वजनिक गरेपनि लेखापरिक्षण प्रतिवेदनमा नाफा २ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले २६ करोड १० लाख रुपैयाँ ब्याज फिर्ता गर्न नपरेकाले थप नाफा बढेको हो । 

नेपाल राष्ट्र बैंकले तालिका बनाएर विभिन्न बैंकको स्थलगत अनुगमन गर्ने गर्छ । शुरुमा स्थलगत अनुगमन गर्ने संस्थामा भएको खराब कर्जा प्रोभिजन राख्नु पर्ने भए केन्द्रीय बैंकका अधिकारीले निर्देशन दिने गर्छन् । जेठपछि स्थलगत अनुगमन भएका संस्थाको अन्तिम प्रतिवेदन आउन समय लाग्ने हुँदा पत्रिकामा प्रकाशित नाफा र लेखा परिक्षण प्रतिवेदनका नाफा फरक हुने राष्ट्र बैंकका अधिकारी बताउँछन् । शुरुमै स्थलगत प्रतिवदेन पाएका संस्थाले वित्तीय विवरण मिलाउन पाउँछन् । तर, स्थलगत प्रतिवेदन नपाएका संस्थाको हकमा राष्ट्र बैंकले स्थलगत प्रतिवेदन हेरर प्रोभिजन राख्ने हुँदा नाफामा फरक हुने राष्ट्र बैंकका अधिकारी बताउँछन् ।

Logo