चुनौतीको सामना गर्दै लगानीकर्ता संघकी अध्यक्ष बनेकी राधा पोखरेल

चुनौतीको सामना गर्दै लगानीकर्ता संघकी अध्यक्ष बनेकी राधा पोखरेल


सेयर बजारमा चर्चित नाम हो, राधा पोखरेल । मृत्युलाई नजिकबाट नियालेकी उनी सेयर बजारमा सफल व्यक्तित्वका रुपमा स्थापित भइसकेकी छन् । उनको जीवनलाई दुई भागमा हेर्न सकिन्छ । उनले पहिलो भागमा बाँच्नकै लागि संघर्ष गरिन् भने दोस्रो भागमा सेयर लगानीकर्ताको हकहितका लागि संघर्ष गरिरहेकी छिन् । 

सानै उमेरमा गम्भिर रोगको सिकार
बाल्यकालमै गम्भीर रोगको शिकार बनेकी उनले बाँच्नको लागि संघर्ष गर्नु परेको थियो । उनको २०५० सालमा महोत्तरी जिल्लाको बर्दिवासमा जन्म भएको थियो । उनी जन्मेको ३ वर्षदेखिनै बिरामी हुन् थालिन् । उनको हातगोडा राम्ररी नचल्ने, खाएको नपच्ने जस्ता समस्याले गम्भीर रुप लिसकेको थियो । समस्या बढ्दै गएपछि बुवाआमाले उपचारको लागि काठमाडौंको कान्ति बाल अस्पतालदेखि भारतको दरभंगा पनि पुर्याउँदासम्म पनि उनको रोग पत्ता लाग्न सकेको थिएन । 

त्यसपछि उनलाई २०६१ सालमा काठमाडौंको बाँसबारीमा गंगालाल हृदयरोग केन्द्र स्थापना भएपछि उपचारका लागि लगियो । गंगालाल अस्पतालमा डा. दिवाकार शर्माले जाँच गरेपछि उनको मुटुको दुईवटा भल्वमा प्वाल परेको भन्दै तुरुन्तै अपरेसन नगरे जे पनि हुन सक्ने खबर दिए । यो कुरा राधाको कानमा पनि पर्यो र उनी छाँगाबाट खसेझैं भइन् । ११ वर्षको उमेरमा त्यस्तो खबर सुन्दासमेत आफूलाई सम्मालेर बुवा आमालाई सम्झाउने गर्थिन् भने एकान्तमा बसेर रुने गर्थिन् उनी ।  

सामान्य खेति किसानी गरेर जिविकोपार्जन गर्ने परिवारलाई एक हप्ताभित्र शल्यक्रिया गर्न १० लाख रुपैयाँ ठिक पार्न अस्पतालले भनेको उनी सुनाउँछिन् । “१० लाख जुटाउन त्यति सहज त कहाँ थियो र ?, उनले भनिन् तर पनि बुवाआमाले छोरीको ज्यान जोगाउन आशाले इष्टमित्र, साथी भाईसँग सहयोग मागी १० लाख जुटाउन सफल भए । त्यसपछि ओपन हार्ट सर्जरी सफल भयो”, उनले भनिन् । 

कसरी प्रवेश गरिन् सेयर बजारमा ? 
बुवाआमाले आफूलाई बचाउनका लागि गरेको संघर्ष र आर्थिक समस्यालाई सानै उमेरमा बुझेपछि पैसा कमाएर बुवाआमाको बोझ कम गर्ने कार्यलाई प्राथमिकतामा राखिन् । त्यसपछि उनले सेयर बजारको बारेमा थाहा पाएको सुनाइन्। “आफन्त पनि सेयर बजारका बारेमा कुरा गरिरहन्थे”, उनले भनिन्, “त्यो कुरा सुनेर सेयर बजारको बारेमा नबुझेपनि २०६५ सालमा पहिलोपटक सेञ्चुरी बैंकको आइपीओ भर्दा ४० कित्ता सेयर पर्दा म एकदमै खुशी भएँ ।” 

त्यस्तै, २०७० सालमा उनले पद्मकन्या क्याम्पसमा समाजशास्त्र स्नातक तहमा अध्ययन गर्दैगर्दा आफन्तले संञ्चालनमा ल्याएको सहकारीमा निर्देशक पदमा काम गर्न सुरु गरेको बताउँछिन् । “त्यसपछि पहिलो महिना ३५ हजार रुपैयाँ तलब लिएपछि सेयर बजारको दोस्रो बजारमा लगानी गर”, उनले भनिन्, “लगानी गरेको ३५ हजारले चौगुणा प्रतिफल दिएपछि यो क्षेत्रमा त पैसा पो बढ्ने रहेछ त ? भनेर लागेर सहकारीको काम पूर्ण रुपमा छोडेर सेयर बजारमा सक्रिय हुन थालेको हुँ।” 

३५ हजार रुपैयाँ हालेर दोस्रो बजारमा प्रवेश गरेकी राधा अहिले करोडौंमा खेल्ने भएकी छन् । 

पुँजीबजार लगानीकर्ता संघको अध्यक्षसम्मको यात्रा
उनले सेयर बजारको बारेमा धेरै अध्ययन गरिन् । त्यती बेला सेयर बजारका समस्यालाई नेपाल धितोपत्र बोर्ड, नियमक निकाय, सरकारवाला निकाय र राज्यहरु सुन्ने नगरेका उनी बताउँछिन् । “लगानीकर्तालाई एकदम अपहेलना गथ्र्यो,” उनले भनिन्, “त्यसैले उनले समस्या हेरेर बस्नु भन्दा त नेपाल पुँजीबजार लगानीकर्ता संघको सदस्य भएर समस्या समाधान गर्न पाए राम्रो हुन्थ्यो भनेर संघकी उपाध्यक्ष बने।” 

उनले भनिन्, “त्यति बेला सेयर बजारमा धेरै समस्या थिए । समस्या समाधान गर्न नेपाल पुँजीबजार लगानीकर्ता संघको तर्फबाट उनी र अन्य दुई संगठनसँगको सहकार्यमा अर्थ मन्त्रालयदेखि  राजस्व सचिव शिशिर ढुंगाना र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समेत भेटेर समस्याको समाधान गरेपछि साथीहरुले संघको अध्यक्ष बन्न सुझाव दिएका हुन् । र २०७५ साल साउन २ गते नेपाल पुँजीबजार लगानीकर्ता संघले चारवर्षे कार्यकालका लागि अध्यक्षमा चयन गर्यो ।” 

सेयर बजारको शिक्षा फैलाउनेमा जोड 
त्यति बेला सेयर बजारमा १५ लाखको सिमा थियो त्यसैले पनि सेयर बजारमा लगानीकर्ता त्यति सक्रिय हुँदैन थिए । त्यसैले उनले जनकपुरमा सेयर शिक्षा कार्यक्रमको आयोजना गरेको बताइन् । “यसरी नै आर्थिक वर्ष २०७५/७६ सालमा  सातै प्रदेशमा र आर्थिक वर्ष २०७६/७७ मा ७७ जिल्लामा सेयर शिक्षा पुर्याउने उद्देश्यका साथ अर्थमन्त्रीसँग निरन्तर भेट गर्ने गरेको थिए”, उनले भनिन्। 

उनको लक्ष्य भनेको पुँजी बजारको हकहित नै थियो । उनले लगानीकर्ताहरुलाई एउटा संगठनको आधारमा विस्तार गरेर सचेतना कार्यक्रम फैलाउने, आइपीओ भर्ने र सेकेन्डरी मार्केटमा भएको पैसा पनि लगानी नगर्ने जस्ता समस्यालाई समाधान गरिसकेकी छन् । उनले ४ वर्षको अवधिमा ४३ ठाउँमा आफै उपस्थित भएर सेयर शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरेकी छिन् । उनले सेयर बजारलाई बेवास्ता गरेको राज्यलाई समेत सम्बोधन गर्न लगाइन् । उनको निरन्तर कोशिसकै कारण पछिल्लो निर्वाचनमा सबै दलको घोषणा पत्रमा सेयर बजार प्रमुख मुद्धाको रुपमा रहेको थिए । नेताहरुले आजको दिनमा अन्तर्वार्तामा बोल्दा पनि पहिला सेयर बजारको कुरा उठाउँछन् । त्यो नै उनको लागि खुशीको कुरा भएको सुनाउँछिन् । 

उनलाई यहाँसम्म आइपुग्दा धेरै समस्याको सामान गर्न परेको सुनाउँछिन् । उनले भनिन्,“यो पुरूषप्रधान समाज यति ढोंगी, अमानवीय छ कि भन्न पनि शरम लागेर आउँछ । मैले पुरूषप्रधान प्रवृत्तिको बिरोध गरेकी हुँ । मैले राम्रो काम गर्न खोज्दा सामाजिक सञ्जालमा आएको गाली सम्झेर आँखामा सागर र मुटुभित्र सुनामी उर्लिएर मलाई सहन निक्कै गारो भयो । पटक–पटक भक्कानिएँ । साँच्चै विक्षिप्त नै भएँ  । तर, पनि हिम्मत हारिनँ । म हिम्मत हार्ने नारी पनि होइन ।”

सानै उमेरमा मृत्युसँग जुधेकी हुनाले सबै समस्यासँग जुध्न सक्ने सामर्थ्य भएको उनी बताउँछिन् । “हामी नारीको सबैभन्दा ठूलो कमजोरी भनेको नै हाम्रो कोमलता र प्रेमभाव हो”, उनले भनिन्, “नारीप्रतिको शोषण आज पनि विभिन्न प्रकृति र स्वरूपमा आ–आफ्नै शैलीसहित समाजमा प्रकट भइरहेका छन् ।”

Logo