एफएनसीसीआईको सदस्यमा क्यान महासंघबाट नवराज कुँवरको उम्मेदवारी घोषणा

एफएनसीसीआईको सदस्यमा क्यान महासंघबाट नवराज कुँवरको उम्मेदवारी घोषणा


कम्प्युटर एशोसिएशन नेपाल (क्यान)महासंघका निवर्तमान अध्यक्ष नवराज कुँवरले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को केन्द्रीय कार्यसमिती सदस्य पदमा वस्तुगत तर्फबाट उम्मेदवारी दिने भएका छन् । 

आउँदो चैत्र २८ र २९ गते सम्पन्न हुन गइरहेको उद्योग वाणिज्य महासंघको निर्वाचनमा क्यान महासंघले निवर्तमान अध्यक्ष कुँवरलाई १२३ वस्तुगत संघहरुको तर्फबाट केन्द्रीय कार्यसमिती सदस्य पदमा उम्मेदवारी बनाउने भएको हो । 

आइसिटीको जगमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सञ्चार, उद्योग व्यवसाय, सम्बन्ध र ज्ञान उभिएको बताउँदै क्यान महासंघले यसको विकास, विस्तार तथा प्रवर्द्धनका लागि निजी क्षेत्रमैत्री नीति नियम बनाउनका लागि सरकारसँग सहकार्य गर्न उम्मेदवारी दिएको बताएको छ ।

यतिमात्र होइन डिजिटल साक्षरता बढाउन, इन्टरनेट सस्तो बनाउन, सकेसम्म सबै कारोबार डिजिटल गर्न, विदेशी लगानी प्रवर्द्धन गर्न, डिजिटल अर्थतन्त्र निर्माण गर्न, उद्योग वाणिज्य महासंघलाई डिजिटल बनाउँदै वृहत राष्ट्रिय सञ्जालको निर्माण गर्न, स्टार्टअप र इन्नोभेसनलाई प्रवर्द्धन गर्न संस्थाको तर्फबाट कार्यसमिती सदस्यमा कुँवरलाई अगाडि सारेको क्यानको भनाई छ ।

क्यान महासंघ सूचना तथा संचारप्रविधि क्षेत्रको संस्थागत विकासका लागि सन् १९९२ मा गैरनाफामुलक संस्थाको रुपमा स्थापित नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति र विज्ञ, व्यवसायीहरु र संघ–संस्थाहरुको छाता संगठन हो ।

Logo