गणपुरक संख्या नपुगेपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक पहिलो पटक स्थगित

गणपुरक संख्या नपुगेपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक पहिलो पटक स्थगित


काठमाडौं ।

गणपुरक संख्या (कोरम) नपुगेपछि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ ।

परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागको प्रगति विवरण र आगामी कार्ययोजनाका बारेमा छलफल गर्न बोलाइएको बैठक कोरम नपुग्दा स्थगित भएको हो । धेरै सांसदहरु आफ्नो गृहजिल्ला गएको र सहभागि हुने जानकारी गराएका सांसद समेत उपस्थित नहुँदा बैठक स्थगित गर्नु परेको समिति सभापति पवित्रा निरौला खरेलले बताइन् ।

‘‘धेरै सांसदहरु जिल्ला जानुभएको छ । बैठकमा आउने भनेर जानकारी दिएकाहरु पनि आउनु भएन । धेरै विरामी रहेको बाध्यकारी अवस्थाका कारण बैठकमा कोरम संख्या नपुगेकाले बैठक स्थगित भयो’’, उनले भनिन् । केही सांसदहरु भने स्वास्थ्य सुरक्षाको कारण देखाउँदै बैठकमा उपस्थित नभएको बताइएको छ । समिति सभापति खरेलले भने सुरक्षा सतर्कता अपनाएर ठूलो हलमा बैठक सञ्चालन गर्ने तयारी भए पनि सम्भव नभएको बताइन् ।

कोभिडका कारण सामाजिक दुरी कायम गरेर बैठक सञ्चालन गर्न पर्याप्त ठाउँ नभएको उल्लेख गर्दै उनले कोरम पुग्ने गरी समितिकै हलमा बैठक सञ्चालन गर्न सकिने अवस्था नभएकाले पनि सांसदहरु सहभागि नभएको बताइन् । कोरम संख्या नपुगेर आजसम्म बैठक स्थगित नभए पनि पहिलो पटक यस्तो भएको उनले बताइन् ।

 

Logo