सरकार सञ्चालनका लागि संयन्त्र र न्युनतम साझा कार्यक्रम चाहिन्छः उपमहासचिव पोखरेल

सरकार सञ्चालनका लागि संयन्त्र र न्युनतम साझा कार्यक्रम चाहिन्छः उपमहासचिव पोखरेल


नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलले सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र र साझा कार्यक्रम बनाउनुपर्ने बताएका छन् । 

बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पोखरेलले वर्तमान सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र बनाउनुपर्ने धारणा व्यक्त गरेका हुन् । उनले गठबन्धनको सरकार भएको हुनाले न्युनतम साझा कार्यक्रम पनि आवश्यक रहेको बताए ।  सरकार सञ्चालनका लागि आचारसंहीता पनि चाहिने उनले बताए ।

उनले कस्ता व्यक्तिहरुलाई मन्त्री बनाउने भन्ने विषयमा पनि छलफल आवश्यक रहेको बताए । उनले भ्रष्टाचारबाट मुक्त भएकाहरुलाई मन्त्री बनाउनुपर्नेमा जोड दिए । 

उपमहासचिव पोखरेलले शान्ति प्रक्रियाका कामलाई अगाडी बढाउने, सुशासन, सेवा प्रवाह र प्रणाली निर्माण गर्नुपर्ने मुख्य कार्यभार सरकारको रहेको भन्दै सोही अनुरुपको जिम्मेवारी निर्वाह गर्न सक्नेहरुलाई सरकारमा लानुपर्ने बताए ।  

उनले नयाँ मन्त्रिपरिषद् गठन हुँदा माओवादी केन्द्रबाट मन्त्री भएकाहरुलाई फिर्ता नबोलाइने बताए । सञ्चारकर्मीसँगको कुराकानीमा उनले मन्त्रीहरुले विगतमा राम्रो सँग काम गर्न नपाएका भन्दै मन्त्रीहरु बदल्ने कुरा नभएको स्पष्ट पारे । यद्यपी दलहरुका बीचमा सहमति भएमा माओवादीका अन्य मन्त्रीहरु पनि थप हुनसक्ने उनले बताए । 

उपमहासचिव पोखरेलले वर्तमान सत्तारुढ गठबन्धन बाध्यता र आवश्यकताले बनेको उल्लेख गर्दै यो गठबन्धन पाँचै वर्ष जाने बताए । उनले सत्तारुढ दलहरु एउटै डुंगामा बसेर जानुको विकल्प नभएको बताए । 

Skip This
Logo