आकाशमा ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज, कसरी भयो यस्तो ?

आकाशमा ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज, कसरी भयो यस्तो ?


नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय ध्वजाबहाक वायुसेवा एयर इन्डियाका  नेपालमा हुने उडानमा प्रतिबन्ध लगाएको छ ।

गत शुक्रबार बिहान सिमरामाथि १९ हजार फिट उचाइमा फन्को लगाइरहेको एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न सो एयरका चालक दललाई प्राधिकरणले तत्कालका लागि नेपालमा हुने उडानमा प्रतिबन्ध लगाएको हो । 

गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज एक्कासी तल आएपछि १५ हजार फिटको उचाइमा रहेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो । सो क्रममा नेपाल एयरलाइन्स मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै थियो भने एयर इण्डिया पनि नयाँदिल्लीबाट काठमाडौं आउँदै थियो । 

तर, एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ले नेपाल एयरलाइन्सको जहाजलाई १३ हजार ५ सय फिटको उचाइमा झर्न लगाएपछि सम्भावित दुर्घटना टरेको थियो । साथै एयर इण्डियाको जहाजलाई पनि १६ हजार फिटको उचाइमा चढ्न लगाइएको थियो । काठमाडौँमा नेपाल एयरलाइन्सको जहाजलाई विमानस्थलको तल्लो भागमा र एयर इन्डियाको जहाजलाई माथिल्लो भागमा अवतरण गराइएको थियो।

हाल एयर ट्राफिक कन्ट्रोलरको भूमिकामा रहेका एटीसीलाई ‘एक्टिभ ड्यूटी’बाट हटाइएको छ । साथै प्राधिकरणले यस घटनामा संलग्नलाई कारबाही गर्न भारतीय नागरिक उड्डयन कार्यालय (डीजीसीए इन्डिया) लाई पनि पत्राचार गर्ने भएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हवाई सुरक्षा जस्तो अति संवेदनशील विषयमा एयर इण्डियाको चरम लापरबाहीप्रति छानबिन गर्न दुई सदस्यीय छानबिन समिति गठन गरिएको छ । जतिसक्दो छिटो अध्ययन गरी प्रतिवेदन पेस गर्न पनि समितिलाई निर्देशन गरिएको छ तर, प्राधिकरणले सदस्यहरूको सूचना भने गोप्य राखेको छ । 

Logo