सरकारको साझा न्यूनतम कार्यक्रममा रास्वपाको पनि असहमति

सरकारको साझा न्यूनतम कार्यक्रममा रास्वपाको पनि असहमति


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले ल्याएको  ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ मा असहमति जनाएको छ । 

शुक्रबार रास्वपाको संसदीय दलको अनौपचारिक बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम भ्रष्टाचारविरुद्ध नरम देखिएको निष्कर्ष निकाल्दै असहमति जनाएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए । 

‘नयाँ नीति कार्यक्रम भ्रष्टाचार विरूद्ध नरम देखिएको छ । बलात्कार जन्य घटनाको छिटो छिनोफानो , बिजनेस इन्क्युबेसन सेन्टरहरू खोल्ने, गैर आवसिय नेपालीको लगानीलाई सहज बनाउने , डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयन गर्ने, डाटा सर्भरमा आत्मनिर्भर बन्ने, राष्ट्रिय परिचयपत्रको अवधारणालाई एक वर्षमा व्यवहारत लागू गर्ने लगायत विविध महत्त्वपूर्ण विषयहरू हटाइएका छन् । यसमा हाम्रो सहमति छैन ।’ उनले भने । 

कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्ने विषय अघिल्लो गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा राखिए पनि अहिले हटाइएको प्रवक्ता ढकालले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको भएको दाबी गरेपनि रास्वपाले असहमति जनाएको हो । यसअघि राप्रपाले पनि सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रम कर्मकाण्डी मात्रै भएको टिप्पणी गरिसकेको छ । 

Logo