प्रधानमन्त्री भेटेपछि लघुवित्त पीडितको आमरण अनसन स्थगित

प्रधानमन्त्री भेटेपछि लघुवित्त पीडितको आमरण अनसन स्थगित


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपश्चात लघुवित्तविरुद्धको सङ्घर्ष समितिका संरक्षक अगस्त अधिकारीले अनसन स्थगित गरेका छन् । 

अधिकारीले आफूहरुको माग सम्बोधन नभए आज बेलुकादेखि वसन्तपुरमा आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा राष्ट्र बैंकले लघुवित्त पीडितका माग सम्बोधन गरिने र छलफलका लागि प्रतिनिधि तोकिने विश्वास दिलाएपछि अधिकारीको अनसन स्थगित भएको हो । लघुवित्तविरुद्धको सङ्घर्ष समितिका अध्यक्ष पुनाराम ज्ञवाली (मनिराम) र ६ वटा किसान सङ्गठन सञ्जालका सदस्यबीच आज छलफल भएको थियो ।

आज बिहान सङ्घर्ष समितिका पदाधिकारीले प्रधानमन्त्री प्रचण्डलाई उनको निवास बालुवाटारमा भेटेका थिए । भेटमा प्रधानमन्त्रीले आगामी नीति तथा कार्यक्रममार्फत लघुवित्तसम्बन्धी समस्या नीतिगत रुपमै हल गर्ने र सङ्घर्ष समितिका मागहरुको अध्ययन गरी छलफल अगाडि बढाउने बारे आजै सरकारी प्रतिनिधि तोक्ने बताएका थिए । 

प्रधानमन्त्रीसँगको छलफलपछि आफूहरुको सङ्घर्षको कार्यक्रम तत्कालका लागि स्थगित भएको ज्ञवालीले जानकारी दिए ।

Logo