1
1
1
1
1

भुक्तानी नदिने सुगरमिलमा तालाबन्दी

1
1
1
1
1
1

सर्लाही ।

उखु किसानको २० करोड बक्यौता नतिर्ने सर्लाहीको गोडैता नगरपालिका–६ बङ्गदहको महालक्ष्मी सुगरमिलमा उखु किसानले विहिबार तालाबन्दी गरेका छन् ।

उखु किसानको गत वर्षको बक्यौता रकमवापत २० करोड बाँकी रहेको र सो रकम उखु किसानको खातामा जम्मा गरिदिनु पर्ने, उद्योग सञ्चालकसँग भएको गत वर्षको सम्झौता कार्यान्वय हुनुपर्ने, नेपाल सरकारले तोकिदिएको मूल्य ५३५ पूरै उखु किसानले पाउनु पर्ने र उद्योगले उखुको २० प्रतिशत ढाला काट्ने गरेको र त्यो नियमसङ्गत नभएको साथै नियमसङ्गत एक प्रतिशत मात्र ढाला काट्नुपर्ने लगायतका माग राखी किसानले उद्योगमा तालाबन्दी गरेका उखु किसान अन्दोलन समितिका अगुवा मुकेश ठाकुरले बताए ।

गत वर्षबाट सञ्चालन शुरु गरेको उद्योगले उखु किसानको २० करोड बक्यौता नै नतिरी यस वर्ष पनि आफूखुशी गुपचुपरूपमा चलान वितरण शुरु गरेपछि किसान आक्रोशित भएका हुन् । उखु किसानको बक्यौता भुक्तानीका लागि आफूहरुले पटक–पटक आग्रह गर्दासमेत उद्योगका सञ्चालक वीरेन्द्र कनौडियाले बेवास्था गरेका कारण उखु किसान तालाबन्दीमा उत्रिन बाध्य भएको गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादवले बताए ।

उखु किसानको भुक्तानी नदिएर उखु किसानलाई ऋणमा डुबाएर आत्महत्याको अवस्था सिर्जना गर्ने उद्योगलाई र उद्योगका सञ्चालकलाई कडा कारवाही गरिने नगरप्रमुख यादवले बताए । उखु किसानले उद्योगबाट आफूहरुले २० करोड लिन बाँकी रहेको बताइरहँदा उद्योगले १६ करोड मात्र रकम उखु किसानलाई तिर्न बाँकी रहेको उद्योग सञ्चालक कनौडियाले बताए । यदि १६ करोड रकम लिन उखु किसान तयार भए आगामी सोमबारसम्ममा उद्योगले भुक्तानी गरिदिने उद्योग सञ्चालक कनौडियाले बताए ।

१४ करोड एक हप्ताभित्रमा र बाँकी दुई करोड केही दिनमा आफूले भुक्तानी दिने बताइरहँदा उखु किसानले अराजक शैलीमा उद्योगमा तालाबन्दी गरेको उद्योग सञ्चालक कनौडियाले बताएका छन् । उद्योग स्थापना भएको पहिलो वर्ष भएका कारण करीब १० करोड घाटा लागेको उद्योग सञ्चालक कनौडियाले गुनासो गरे । तर झुटो आवश्वासन दिएर उद्योग सञ्चालन गर्ने तयारीमा उद्योग सञ्चालक रहेको उखु किसान रामसगोरथ रायले बताए ।

उद्योग सञ्चालक, जिल्ला प्रशासन कार्यालय सर्लाही, जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोली र उखु किसानबीच कात्तिक मसान्तसम्ममा उखु किसानको बक्यौता भुक्तानी गरिसक्ने भनी विभिन्न पाँच बुँदे सहमति भएको भए पनि उद्योगले पुसको २० जान लाग्दा पनि भुक्तानी नदिँदा किसान थप चिन्तित बनेका छन् । पटक–पटक सम्झौता मात्र गर्ने तर भुक्तानी नगर्ने गरेका कारण किसान थप आक्रोशित बनेका राष्ट्रिय कृषक समूह महासङ्घका जिल्ला अध्यक्ष सतेन्द्रकुमार ठाकुरले बताए ।

त्यसैगरी अन्नपूर्ण चिनी मिलले ४० करोड, श्रीराम सुगर मिलले ४२ करोड, इन्दिरा सुगर मिलले १० करोड, लुम्बिनी सुगर मिलले १० करोड र वाग्मती सुगर मिलले ११ करोड रकम उखु किसानको गत वर्षको नै भुक्तानी गर्न बाँकी रहेको छ ।
रासस

प्रकाशित: १८ पुष २०७६ ०७:०४ शुक्रबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी