वर्षाले रोकिएको आईपीएलको फाइनल खेल आज

वर्षाले रोकिएको आईपीएलको फाइनल खेल आज


वर्षा बाधक बन्दा आइतबार हुने तालिका रहे पनि स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल खेल आज (सोमबार) हुँदै छ । आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशाला हुने तय रहे पनि लगातारको वर्षाका कारण गुजरात टाइटन्स र चेन्नाई सुपर किङ्सबीचको फाइनल खेल 'रिजर्भ डे' मा सरेको हो । 

यी दुईबीचको खेल नेपाली समयअनुसार आज साझ ७:४५ बजेदेखि सुरु हुनेछ । आईपीएलको प्लेअफमा चेन्नाईले प्रतियोगिताको साविक विजेतासमेत रहेको गुजरातलाई नै हराएर सोझै फाइनलमा स्थान बनाएको थियो । गुजरातले भने इलिमिनेटर जितेको मुम्बई इन्डियन्सलाई हराएर उपाधिका लागि चेन्नाईसँगको भेट पक्का गरेको थियो ।

हालसम्म चेन्नाईले चार पटक आईपीएलको उपाधि जितेको छ । यसअघिको संस्करणबाट आईपीएलमा 'डेब्यु' गरेको गुजरातले पहिलो संस्करणको नै उपाधि जितेको थियो ।

Logo