भारतसँगको सीमा समस्याबारे प्रधानमन्त्रीले भने- बंगलादेश मोडलमा जमिन सट्टापट्टा गर्न सकिन्छ

भारतसँगको सीमा समस्याबारे प्रधानमन्त्रीले भने- बंगलादेश मोडलमा जमिन सट्टापट्टा गर्न सकिन्छ


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारतको चारदिने औपचारिक भ्रमणले दुई देशका सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने सकारात्मक माहोल बनाएको टिप्पणी गरेका छन् । 

भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता भएर नेपाल र भारतबीच विभिन्न  द्विपक्षीय सम्झौता एवं समझदारी भएका छन् । त्यसपछि उनको यस्तो धारणा सार्वजनिक भएको हो । नेपाल–भारतबीचको सीमा समस्यालाई राखिराख्न नहुने र यसको समाधानमा बङ्गलादेश मोडल पनि एउटा अवसर रहेको प्रधानमन्त्री दाहालले बताएका छन् । 

भारत भ्रमणमा केन्द्रित रहेर प्रधानमन्त्री दाहालसँग राससले ‘भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई ‘सुपरहिट’ बनाउने र हिमालजस्तै उचाइ दिने भन्नुभएको छ, यसको अर्थ के हुन सक्छ ?’ भनेर प्रश्न सोधेको थियो । जसको जवाफमा उनले सिमानाका समस्या समाधान गर्नुपर्छ, यसलाई अड्काइराख्नु हुँदैन भन्नेमा दुवै देश एउटास्तरमा आइपुग्नु नै ठूलो कुरा भएको बताएका हुन् ।  

प्रधानमन्त्री दाहालले भने, ‘उहाँ पहिलो पटक सन् २०१४ मा नेपाल भ्रमणका क्रममा सदनमा बोल्दा ‘हिट’को अर्थ लगाएर नेपाल–भारत सम्बन्धको चर्चा गर्नुभएको थियो । बीचमा जुन ‘गति’मा जानुपथ्र्यो, गएन । अब त्यसलाई ‘सुपरहिट’ बनाउनुपर्छ भनेर उहाँले त्यतिबेलाको आफ्नो सफल भ्रमणलाई जोडेर भन्नुभएको मैले महसुस गरेको छु । नेपाल–भारत सम्बन्धलाई धेरै नै माथि लानुपर्छ भनेर भन्ने नै त्यसको अर्थ हो । यो दुई शब्दको प्रयोगबाट भारतीय प्रधानमन्त्री निकै विश्वासको साथमा अब नेपाल–भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा रहेको मैले ठानेको छु ।’ 

‘सिमानाका समस्या समाधान गर्नुपर्छ, यसलाई अड्काइराख्नु हुँदैन भन्नेमा दुवै देश एउटास्तरमा आइपुग्नु नै ठूलो कुरा लाग्छ । प्रधानमन्त्री मोदी र मेराबीचमा कुरा हुँदा भारत र बङ्गलादेशले सीमा समस्या हल गरेको चर्चा हामीले गरेकै हो । स्वयं प्रधानमन्त्री मोदीले लामो समयको मेहनत र गृहकार्यपछि त्यो सफलता प्राप्त भएको हो भनेर बताउनुभयो । नेपाल–भारतबीचको सीमा समस्यालाई राखिराख्न हुँदैन, यसलाई समाधान गर्नुपर्छ ।’ उनले थपे, ‘बङ्गलादेश मोडल पनि एउटा अवसर हुनसक्छ, अर्को पनि हुन सक्छ । नेपालले इतिहासको तथ्यतथ्याङ्कका आधारमा आफ्नो भनेको भूमिलाई भारतले छाड्दा पनि समाधान भई नै हाल्छ । अर्को कुरा धेरै ठाउँमा अप्ठ्यारो प-यो भने सट्टपट्टा गर्ने चलन पनि छ । तर अहिले नै यी विकल्पबारे हामी औपचारिक ढङ्गले प्रवेश गरेका छैनौँ । नेपालमा पनि केही सीमासम्बन्धी जानकारले बङ्गलादेश जाने बाटो हामीलाई दिने हो भने समस्या समाधान भइहाल्छ भनेर ल्याउने गर्नुभएको छ । तर यी विकल्प अहिले भारत सरकारसँग औपचारिकरुपले प्रवेश गरेको विषय होइनन् । जे भए पनि सिमानाका समस्या अब हल गर्नुपर्छ भन्ने प्रतिबद्धताको तह अहिले नेपाल–भारतको अर्को उचाइमा पुगेको छ । यो सत्य हो ।’

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार भारत पुगेका प्रधानमन्त्री दाहाल आज साँझ काठमाडौँ फर्कंने कार्यसूची छ ।

Logo