प्रचण्डलाई विष्णु रिमालको प्रश्न- यसपाली चाहीँ तपाईंलाई प्रधानमन्त्री कसले बनाएको हो ?

प्रचण्डलाई विष्णु रिमालको प्रश्न- यसपाली चाहीँ तपाईंलाई प्रधानमन्त्री कसले बनाएको हो ?


नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपालमा प्रधानमन्त्री कसले बनाउँछ भनेर प्रश्न सोधेका छन्।

प्रधानमन्त्री दाहालले हालै प्रितम सिंहको नाम जोडेर दिएको अभिव्यक्तिलाई लिएर माहोल तातेको छ। उनले स्वयम प्रधानमन्त्री दाहाललाई पनि यसपालि प्रधानमन्त्री कसले बनाएको हो ? भन्दै प्रश्न तेर्साएका छन्।

उनले प्रधानमन्त्री दाहालसँग संसद्ले पनि जवाफ माग्नुपर्ने बताए। उनले प्रश्न गर्दै फेशबुकमा लेखेका छन्, ‘प्रितम सिंहले बनाएका प्रधानमन्त्रीलाई प्रश्न!!!
सधैंभरी आफूले काँक्रो खाएर वियाँ अर्काको गालामा टाँस्ने कलाका च्याम्पियन पुष्पकमल दाहालजीले यसपाली वियाँ पनि आफ्नै गालामा टाँसिएको पत्तो पाउनु भएन। यो विषय अब यहीँ सकिनु हुन्न, बरु विषय यहाँबाटै सुरु हुनुपर्छ । हामी सबैले बहालवाला प्रधानमन्त्रीलाई सोध्नै पर्छ, नेपालमा प्रधानमन्त्री कसले बनाउँछ? यसपाली चाहिँ तपाइँलाई प्रधानमन्त्री कसले बनाएको हो ? हामीलाई विश्वास छ, संसदले हाम्रो प्रतिनिधित्व गर्छ। त्यसैले दहालजीसँग आज कम्तिमा पनि संसदले जवाफ माग्नै पर्छ– उहाँलाई प्रधानमन्त्री कसले बनायो ? ‘प्रितम सिंह’ थिएनन्, यसपाली कसले दिल्लीमा ओहोर दोहोर गर्‍यो? पाँच बर्षलाई सरकार बनाउने–हटाउने, ऐन कानुन बनाउने–फेर्ने–खारेज गर्ने, विकासका लागि बहस गर्ने र सुशासन कायम गर्ने/गराउने जस्ता नेपाली जनताको अधिकार प्रयोग गर्नेगरी चुनिएका संघीय संसदका माननीयहरु कसैका रबर स्ट्याम्प हुन् र? माननीय ज्यू, तपाईँहरुलाई लाग्दैन सभाहलमा टेबल ठोकी ठोकी आफूले चुनें भनेको प्रधानमन्त्री स्वयंले ‘प्रितम सिंहले दिल्ली ओहोर दोहोर गरेर मलाई प्रधानमन्त्री बनाए’ भन्दा सार्वभौम संसदको शीर झुकेको छ!’

Logo