सुन तस्करी प्रकरणपछि विमानस्थल भन्सार प्रमुख फेरिए, टोकराज पाण्डे नियुक्त

सुन तस्करी प्रकरणपछि विमानस्थल भन्सार प्रमुख फेरिए, टोकराज पाण्डे नियुक्त


एक क्विन्टल सुन तस्करी प्रकरण बाहिरिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख फेरिएका छन् । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले मन्त्रालयस्तरीय निर्णय गर्दै टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा नियुक्त गरेका हुन्। निजामती राष्ट्रिय किताबखानाका महानिर्देशक पाण्डे गत बिहीबार मात्रै अर्थ मन्त्रालयमा तानिएका थिए । 

यसअघिका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार प्रमुख अरुण पोखरेल गत गत असार १७ गतेदेखि बिरामी बिदामा छन्। हाल उनलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको १०० किलाे बढी सुन गत बुधबार राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । क्याथे फ्यासिफिकको उडानमार्फत हङकङबाट स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’मा लुकाएर ल्याइएको उक्त परिणामकाे सुन विमानस्थल भन्सारबाट पार गरेर सिनामंगल सडकसम्म पुर्‍याइए पछि बरामद भएको थियो । भन्सार कार्यालयले निर्वाध रूपमा सुन पास गरिएको थियो । तर, उक्त जाँचपास शंकास्पद रहेको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेकाे थियाे । 

यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा पुर्याइएको छ । यस सुन तस्करी प्रकरणमा हालसम्म १६ जना पक्राउ परिसकेका छन् ।  

Logo