काठमाडौंबाटै ५२ लाखभन्दा बढी नक्कली नोट बरामद, नोट ल्याउन पर्यटक बसको प्रयोग

काठमाडौंबाटै ५२ लाखभन्दा बढी नक्कली नोट बरामद, नोट ल्याउन पर्यटक बसको प्रयोग


प्रहरीले करिब ५३ लाख नक्कली रुपैयाँ बरामद गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिषदले शुक्रबार पत्रकार सम्मेलन गर्दै काठमाडौंको नागढुंगा, नयाँ बसपार्क र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोट बरामद गरेको जानकारी दिएको हो । 

प्रहरीले नागढुंगामा परिक्षण गर्दा लुम्बिनीबाट काठमाडौं आउँदै गरेको लु१प५ नम्बरको हरियो नम्बर प्लेट भएको पर्यटक बसबाट ३५ लाख ७३ हजार रुपैयाँ बरामद गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बूढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली छन् ।

चेकजाँचका क्रममा बसको डिक्कीमा राखेको चाउचाउको कार्टुनमा एक हजार दरका तीन हजार ५७३ थान नक्कली नोट फेला परेको हो । सोधपुछका क्रममा बसका चालक तथा सहचालकले प्रहरीलाई उक्त कार्टुन लुम्बिनी बसपार्कबाट अचार भनेर पठाएको बताएका थिए ।

त्यसकै आधारमा खोजतलास गर्दा गोंगबु बसपार्क र भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

चाँगु बुढाथोकीगाउँस्थित ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापा मार्दा नोट बरामद भएको हो । 

प्रहरीका अनुसार सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका थिए । प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको छ ।

Logo