महिला टि२० आई खेलमा नेपालको लगातार दोस्रो जित

महिला टि२० आई खेलमा नेपालको लगातार दोस्रो जित


नेपालले चार देश सम्मिलित महिला टि२० आई खेलमा लगातार दोस्रो जित हात पारेको छ । बुधबार भएको नेपालले कुवेतमाथि ३४ रनको जित दर्ता गरेको हो । 

मलेसियाको बायोमास ओभलमा नेपालले दिएको ९० रनको सामान्य विजयी लक्ष्य पछ्याएको कुवेत निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रनमै समेटिएको हो ।  कुवेतका लागि जिफा जिलानीले सर्वाधिक ११ रन बनाइन् । त्यस्तै खादिजा खलिलले २२ बलमा १० रन बनाइन् । अन्य कुनैपनि कुवेती ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालको लागी इन्दु बर्माले ३ विकेट लिइन् । त्यस्तै, खुशी डंगोलले २ विकेटसहित  ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले एक एक विकेट लिइन् । 

त्यसअघि टस हारेर पाहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो । नेपालका लागि मध्यक्रमकी ब्याटर इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् । साथै विन्दु रावलले २० रन जोड्दा काजोल श्रेष्ठले १९ रनको अविजित इनिङ खेलिन् ।

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । चार देश सम्मिलित सिरिजमा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालले अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा फाइनलमा पुग्नेछ ।

Logo