तीजमा विकृति बढिरहेको छः मन्त्री शर्मा

तीजमा विकृति बढिरहेको छः मन्त्री शर्मा


सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले देशको सांस्कृतिक अवस्था नकारात्मक ढङ्गले बदलिएको बताएकी छन् । तीज मनाउने कुरामा पनि विकृतिहरु बढिरहेको भन्दै उनले चिन्ता व्यक्त गरेकी छन् ।

शनिबार सिन्धुपाल्चोक–काठमाडौं समन्वय सम्पर्क मञ्चद्धारा आयोजित तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्था मात्र होइन सांस्कृतिक अवस्था पनि नकारात्मक ढङ्गले बदलिएको बताएकी हुन् । 

उनले भनिन्, ‘हाम्रो संस्कृति जसरी विकृत हुँदैछ । जसरी पुँजीवादमा प्रवेश गर्दैछ हामीले हाम्रो संस्कृति जोगाउनुपर्छ हाम्रो संस्कृति परम्पराको रक्षा गर्नुपर्छ । हामीले व्यवस्था बदलियो, अवस्था बदलिएको छैन भनिरहेका छौं नि, त्यो आर्थिक अवस्था मात्र होइन हाम्रो सांस्कृतिक अवस्था पनि बदलिएको छैन । बदलिए पनि नकारात्मक ढङ्गले बदलिएको छ ।’
 
मन्त्री शर्माले नेपालमा तीजको दर खाने प्रचलनमा पनि विकृति बढिरहेको टिप्पणी गरिन् । महिलाहरुले रक्सी चुरोट सेवन गर्ने जस्ता गलत कुरामा पुरुषसँग प्रतिस्पर्धा गर्ने गरेको उनको भनाई छ । 

उनले भनिन्, ‘तीजमा पनि विकृति बढिरहेको छ । हामी कतातिर जाँदै छौं ? हाम्रो नयाँ पुस्ता कहाँ जाँदै छ ? एकातिर गहना कपडा सबैको प्रतिस्पर्धा भइरहेको छ । रक्सी चुरोटको सेवन गरी समानताको नाममा नकारात्मक कुरामा पुरुषले जस्तै गर्नुपर्छ भन्ने प्रतिस्पर्धा बढेको देखिन्छ ।’ 

Logo