कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा मन्त्रिपरिषद् सदस्यहरुसँग छलफल

कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा मन्त्रिपरिषद् सदस्यहरुसँग छलफल


कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषदका सदस्यहरूसँग समसामयिक विषयमा छलफल गरेका छन्। 

रक्षामन्त्रालयमा सोमबार सबै मन्त्रीहरूसँग छलफल गर्दै कार्यवाहक प्रधानमन्त्री  खड्काले आ-आफ्नो मन्त्रालयको काम जनतालाई सन्तुष्ट हुने गरी कार्यसम्पादन गर्न सबै लाग्नुपर्ने कुरामा जोड दिएको उनको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल विदेश भ्रमणमा रहेका बेला पनि जनतासँग जोडिएका र सेवा प्रवाहका काममा कुनै गुनासो नआउने गरी काम गर्ने विषयमा छलफल भएको उनको सचिवालयको भनाई छ। 

छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्काले देशको शान्ति सुरक्षामा खलल र्पुयाउने र नागरिकमा वितृष्णा फैलाउने तत्त्वहरू सक्रिय हुन खोजेकाले त्यसप्रति सजग भई सबै मन्त्रालयले काम गर्नुपर्नेमा जोड दिएका छन्।

साथै संविधान दिवस र नजिकिँदै गरेका चाडपर्वहरूमा शान्ति-सुरक्षादेखि बजारको आपूर्तिमा सहजता ल्याउँदै कालोबजारी र महंगी नियन्त्रणमा नतिजा आउने गरी तथा आम नागरिकले राहत महसुस गर्ने गरी समयसीमा तोकेरै सबैले काम गर्नुपर्नेमा उनले जोड दिएका छन्।
 
यस्तै, छलफलमा सबै मन्त्रालयको कार्यसम्पादन बढाउने र जनतालाई प्रदान गर्ने सेवा प्रवाह थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको बताइएको छ।
 
बैठकमा चाडपर्वको बेला सवारी आवागमन बढ्ने भएकाले सडक सुधार तथा सुरक्षालाई थप प्रभावकारी बनाउन तत्काल कार्य योजना बनाई महत्त्वका साथ सरकारले लाग्नुपर्नेमा कार्यवाहक प्रधानमन्त्री खड्काले जोड दिएका छन्।

छलफलमा सहभागी उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायत सबै मन्त्रीहरूले नागरिकको दैनिक जीवनसँग जोडिएका शान्ति-सुरक्षा लगायत बजारको आपूर्ति व्यवस्थाबारे आ-आफ्नो मन्त्रालय बाट हुने काममा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने प्रतिबद्धता जनाएको मन्त्री खड्काको सचिवालयले जनाएको छ। 

Logo