इजरायलमा ज्यान गुमाएका चार विद्यार्थीको शव आइतबार काठमाडौँ आइपुग्ने

इजरायलमा ज्यान गुमाएका चार विद्यार्थीको शव आइतबार काठमाडौँ आइपुग्ने


इजरायलमा हमास समूहको आक्रमणमा ज्यान गुमाएका चार जना नेपाली विद्यार्थीको शव आइतबार विहान काठमाडौँ ल्याईने भएको छ।

तेल अबिबस्थित नेपाली दूतावासले पहिचान भएका चार विद्यार्थीको शव शनिबार नेपाल पठाउने जानकारी र ती शवहरु आइतबार बिहान नेपाल आइपुग्ने जानकारी दिएको छ।

हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये सम्पूर्ण कानूनी प्रक्रिया पूरा भएका ४ विद्यार्थीको शव भोलि दिउँसोको १ः२५ बजे फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको र शव कार्तिक ५ गते, आइतबार विहान काठमाडौँ पुग्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दूतावासका अनुसार ईजरायलबाट फ्लाइ दुबईको उडान नं एफजेड १२१० मार्फत् दुबईसम्म तथा तत्पश्चात् फ्लाइ दुबईकै उडान नं एफजेड ८३५१ मार्फत् काठमाडौँसम्म पुग्ने गरी व्यवस्था मिलाइएको छ।

अन्य शव पहिचानको काम क्रमशःभइरहेको दूतावासले स्पष्ट पारेको छ। साथै, सम्पर्क विहीन रहेका विपिन जोशीको खोजी कार्यमा दूतावासले आफ्नो प्रयास केन्द्रित गरिरहेको पनि  उल्लेख गरेको छ।

प्यालेस्टायनी लडाकु समूह हमासको आक्रमणमा परेर ज्यान गुमाएकामध्ये ५ जनाको शव इजरायली सरकारले असोज २८ गते नेपाललाई हस्तान्तरण गरेको थियो।

नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेश कुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको राजदूतावासले जनाएको छ। उनीहरूमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशिष चौधरीको शव ल्याउन लागिएको हो।

Logo