११ कात्तिक २०७८ बिहीबार

आजदेखि सबै सीमा नाका बन्द, ढुवानी भने नरोकिने

काठमाडौं ।
सरकारले भारत र चीनसँगका सबै नाका सोमबार (आज) देखि पूर्णरूपमा बन्द गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले एक साताका लागि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । उनका अनुसार नाकाबाट ढुवानी लगायत सामान आयात भने निरन्तर रहनेछ।

भारतबाट हुलका हुल नेपाली घर फर्किन थालेपछि कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारको आलोचना भएको थियो । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै चार घण्टा बसेको मन्त्रिपरिषद् बैठकले नाका बन्दको निर्णय गरेको हो।

‘बहुपक्षीय क्षेत्रीय सहयोग बढाउने र संक्रमण एक देशबाट अर्को देशमा नफैलियोस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय सरकारले लिएको हो’, बैठकपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले भने । यसो गर्दा छिमेकी मुलुकहरूको हितलाई पनि ध्यान दिइएको उनले बताए ।

नाका भएका जिल्लालाई गृह मन्त्रालयले परिपत्रसमेत गरेको छ। विश्व स्वास्थ्य संगठनले नेपाल–भारत सीमा नाका बन्द गराउन नेपाललाई सुझाव दिँदै आएको थियो।

बैठकले प्रधानमन्त्री कार्यालयले व्यवस्थापन गर्ने गरी केन्द्रीय कोष खडा गर्ने निर्णय गरेको छ। कोषमा सरकारले ५० करोड राख्ने र मन्त्रीहरूले एक महिनाको तलब योगदान गर्ने निर्णय भएको छ । कोषमा सहयोगका लागि सरकारले आह्वान गर्ने निर्णय भएको छ।

कोषले कोरोना नियन्त्रणका लागि आवश्यक औषधि, उपकरण खरिददेखि क्वारेन्टाइन व्यवस्थापनको काम गर्नेछ । अन्तर्राष्ट्रिय हवाई यात्री सेवामा पनि पूर्ण रोक लगाइने भएको छ । यसअघि कोरोना संक्रमित मुलुकमा हवाई सेवा बन्द गरिएको थियो। कार्गोलगायत अत्यावश्यक वस्तु आयात–निर्यातका लागि मात्र अन्तर्राष्ट्रिय हवाई सेवा जारी राख्ने र यात्री सेवामा पूर्ण रोक लगाइएको छ । हवाई सेवालाई अत्यावश्यक सेवामा राखिएकाले आन्तरिक सेवा भने नरोक्ने निर्णय भएको मन्त्रिपरिषद् स्रोतले बतायो।

सरकारले लामो दूरीका सार्वजनिक यातायात सेवामा आजदेखि रोक लगाउने निर्णय यस अघि नै गरिसकेको छ । उपत्यकाभित्र भने सार्वजनिक यातायात यथावत् सञ्चालन गर्न दिने र निजी यातायातका साधनमा रोक नलगाउने निर्णय गरिएको छ। ‘निजी यातायातले बदमासी गरी उपत्यका बाहिरबाट यात्रु ओसारेको पाइए कानुनी कारबाही गरिनेछ।अन्नपूर्णबाट

प्रकाशित: १० चैत २०७६ ०६:५८ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी