सूर्तीजन्य पदार्थ बिक्रीमा कडाइ, ५९ किलो नष्ट गरियो

सूर्तीजन्य पदार्थ बिक्रीमा कडाइ, ५९ किलो नष्ट गरियो


विराटनगर महानगरपालिकाले बरामद गरेको ठूलो परिमाणको सुर्तीजन्य पदार्थ नष्ट गरेको छ। 

विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा लगाएको प्रतिबन्धको बेवास्ता गर्दै बिक्री गरेको फेला पारेपछि महानगरले विभिन्न पसलबाट बरामद गरेको थियो। 

पछिल्लो समय महानगरले सुर्तीजन्य पदार्थ बिक्रीवितरण र सेवनमा कडाइ गरेको छ। महानगरले ऐन नै बनाएर सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध लगाएको हो।

सुर्तीजन्य पदार्थको प्रयोगले मानवीय स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै महानगरको सरसफाईमा समेत समस्या देखिएकाले प्रतिबन्ध लगाउनुपरेको मेयर नागेश कोइरालाले बताए।

मेयर कोइरालाकै उपस्थितिमा महानगरले बुधबार करिब ५९ किलो सुर्तीजन्य पदार्थ नष्ट गरेको हो। गुट्खा, तुल्सी, खैनीलगायतका सुर्तीजन्य पदार्थ नष्ट गरिएको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए। यसअघि पनि ५३ किलो सुर्तीजन्य पदार्थ नष्ट गरिएको थियो। 

महानगरले पौडेललाई सुर्तीजन्य पदार्थको अनुगमनको जिम्मेवारी तोकेको छ। केही दिनअघि एकजना व्यापारीलाई महानगरले १० हजार रुपैयाँ जरिवानासमेत गरेको थियो। 

पटक-पटकको चेतावनीलाई बेवास्ता गर्दै केही बिक्री गरेको फेला पारेपछि महानगरले ती व्यापारीलाई जरिवाना गरेको जनाएको छ।सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा प्रतिबन्धपछि विराटनगरमा सरसफाईमा समेत सहयोग पुगेको मेयर कोइरालाको भनाइ थियो।

‘विराटनगरका सडकहरुमा अचेल सुर्तीजन्य पदार्थका खोलहरु त्यति देखिँदैन। गुट्खा खाएर थुकेको पनि देखिँदैन,’मेयर कोइरालाले भने,‘एकैचोटि निर्मूल नहुन सक्छ तर न्यूनीकरण भएको छ। महानगरको यस अभियानमा सहयोग गर्न सबै महानगरवासीलाई आग्रह गर्दछु।’

महानगरले गत वैशाख १ गतेदेखि विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएको हो। त्यस्तै साउन १ गतेदेखि भने सुर्तीजन्य पदार्थ बिक्रीको अनुमति खारेज र नयाँ दर्तासमेत बन्द गरेको छ। 

महानगरले सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनलाई नियन्त्रण गर्न ऐनसमेत जारी गरेको छ। १ हजारदेखि ५० हजारसम्म जरिवाना गर्ने ऐनमा उल्लेख छ।

Logo