काठमाडौं ।
गत फागुन र चैतको विद्युत महसुल वैशाखभित्र तिरे जरिवाना नलाग्ने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले फागुन र चैतको महसुल समयमै तिरे जरिवाना नलाग्ने व्यवस्था गरेको हो । यसअघि निर्धारित समयमा महसुल नतिरे जरिवानाको व्यवस्था थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रिपरिषद्को निर्णय अनुसार जरिवाना छुट दिन लागिएको बताए ।
कार्यकारी निर्देशक घिसिङले लकडाउन अवधि लम्बिदै गए सोही अनुसार समयावधि थप हुने बताए । कोरोना भाइरस संक्रमणका कारण चैत १६ मा बसेको मन्त्रिपरिषद्को बैंठकले उपभोक्ताहरुलाई विद्युत महशुल तथा विलम्ब बापत लाग्ने जरिवाना तथा अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो । प्राधिकरणले चैत र वैशाखको महशुल आगामी ६ जेठभित्रमा भुक्तानी गरे २ प्रतिशत छुट पाउने थप व्यवस्था गरेको छ । यसअघि यस्तो छुट सुविधा बिलिङ भएको एक हप्ताभित्रमा महसुल तिरेमा मात्रै पाउने व्यवस्था रहेको थियो ।
मन्त्रिपरिषद्को निर्णयका आधारमा प्राधिकरणले १५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकले गत चैत्र र बैशाखको बिलको इनर्जी शुल्कमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।
प्रकाशित: ६ बैशाख २०७७ १५:२६ शनिबार