चितवनमा एनपीनोगको पाँच दिने सूचना प्रविधि कार्यशाला हुने

चितवनमा एनपीनोगको पाँच दिने सूचना प्रविधि कार्यशाला हुने


आगामी माघ १४ देखि १८ गतेसम्म चितवनमा सूचना प्रविधि कार्यशाला 'एनपीनोग नाइन' हुने भएको छ।

इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनोग)ले संयुक्त रुपमा सञ्चालन गर्ने पाँच दिने यो कार्यशालामा नेटवर्क एसेन्सियल्स विषयमा विभिन्न विज्ञले प्रस्तुति दिनेछन्।

कार्यशालामा नेटवर्किङ एवं सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका व्यावसायिक विज्ञहरूबाट विषयगत तालिम सञ्चालन हुने बताइएको छ।

इन्टरनेट पूर्वाधार निर्माण र व्यवस्थापनमा उच्च दक्ष प्राविधिक जनशक्तिको आवश्यकतालाई सम्बोधन गर्न कार्यशाला आयोजना गर्न लागिएको आयोजकको भनाइ छ। कार्यशालामा ४५ जना सहभागी हुने बताइएको छ। यसअन्तर्गत एनपीनोग नाइन फेलोसिप प्रोग्रामबाट ६ जना सहभागी छनोट गरिने छ।

त्यस्तै एनपीआईएक्स, इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान), नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्क (एनआरईएन) का सदस्यहरूलाई रजिस्ट्रेसनमा १५ प्रतिशत छुट दिइएको छ भने विद्यार्थी र महिला सहभागीलाई ३० प्रतिशत छुट दिइएको छ। इच्छुक व्यक्तिले अनलाइन रजिस्ट्रेसन गर्न सक्नेछन्।

Logo