काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गभर्नर नियुक्त भएको एक महिनाभित्र सम्पत्ति विवरण पेश गर्नुपर्र्ने कानुनी प्रावधानका कारण गभर्नर अधिकारीले मंगलबार सम्पत्ति विवरण पेश गरेका हुन् ।
उनले पेश गरेको सम्पत्ति विवरणमा नविल, हिमालयन, सिद्धार्थ, बैंक अफ काठमाण्डू, सनराइज, एभरेष्ट, मेगा, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, ग्लोबल आइएमइ, एनआइसी एसिया, मेरो माइक्रो फाइनान्स, नागरिक लगानी कोष, प्रिमियर इन्स्योरेन्स लगायतका सेयर खरिद गरेका छन् । उनले यी कम्पनीको ४८ लाख ३७ हजार ३ सय ९० रुपैयाँ बराबरको २७ हजार १ सय ८४ कित्ता सेयर उल्लेख गरेका छन् ।
त्यसैगरी गभर्नर अधिकारी नविल व्यालेन्स फण्ड–२ मा १८ लाख बराबरको लगानी गरेको उल्लेख गरेका छन् । साथै, उनले चिलिमे, एचआइडीसिएल, सानिमा माइ, अपर तामाकोशीको ४० लाख १७ हजार ५ सय रुपैयाँ बराबरको २७ हजार ९ सय २९ कित्ता सेयर पनि खरिद गरेका छन् । गभर्नर अधिकारीले यी सेयर दोस्रो बजारबाट खरिद गरेको जनाएका छन् ।
त्यसैगरी, उनी र परिवारको नाममा माछापुच्छ्रे बैंकमा एक लाख ६३ हजार ७ सय ६२ रुपैयाँ नगद रहेको उल्लेख गरिएको छ भने नविल बैंकमा २ हजार ३ सय २ अमेरिकी डलर रहेको विवरणमा जनाइएको छ । साथै, नागरिक लगानी कोषमा १२ लाख २४ हजार ६ सय रुपैयाँ रहेको उल्लेख गरेका छन् ।
त्यस्तै गभर्नर अधिकारीसँग नेपाल फिल्म, बाँसबारी लेदरेज, हरिसिद्धि इँटा र ज्योति स्पिनिङल गायत औद्योगिक क्षेत्रका कम्पनीहरुको ११ सय कित्ता सेयर रहेको उल्लेख छ । साथै, २७ तोला सुनका गहना छन् भने ५० तोला चाँदीका गहना रहेको विवरणमा उल्लेख छ ।
त्यसैगरी, सैंबु गाविसमा २७ आना ३ पैसा २ दाम जग्गा रहेको देखिएको छ । सो जग्गा उनले विराटनगरको घरजग्जा बिक्री, सापटी र बचतबाट किनेको उल्लेख गरिएको छ । जसको लागत १७ लाख रुपैयाँ हुने उल्लेख छ । साथै, गभर्नर अधिकारी ललितपुरको छप्पीमा ४ रोपनी १० आनाको एक कित्ता र २ रोपनी १५ आनाको अर्काे कित्ता जग्गा रहेको छ ।
त्यसैगरी, २ रोपनी ६ आनाको बराबरको अर्काे जग्गा पनि रहेको विवरणमा उल्लेख गरिएको छ । यो जग्गा ९० लाख ९७ हजार रुपैयाँ बराबरको भएको जनाइएको छ । हेटौंडा तथा झापाको सुरुङ्गामा पनि जग्गा जमिन रहेको विवरणमा उल्लेख छ ।
प्रकाशित: २३ बैशाख २०७७ १७:५१ मंगलबार