काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सिमित शाखा तथा कर्मचारीहरुले मात्रै सेवा दिन निर्देशन दिएको छ ।
बैंकका सबै शाखा खोलेर सेवा दिँदा बढी चहलपहल भएको भन्दै राष्ट्र बैंकले बैंकका सिमित शाखा मात्रै खोलेर सेवा दिन निर्देशन दिएको हो । यसअघि सरकारले विभिन्न ४४ प्रकारका उद्योगहरु खोल्ने निर्णय गरेपछि बैंक तथा वित्तीय संस्थाहरुले पनि सबै शाखा खोलेर सेवा दिन सुरु गरेका थिए ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मौखिक निर्देशन दिँदै नजिक नजिक रहेका शाखामध्ये कुनै एक शाखाबाट सेवा दिन निर्देशन दिएको हो । त्यसका साथै बैंक तथा वित्तीय संस्थाहरुले एक तिहाइ कर्मचारी मात्र प्रयोग गरेर सेवा दिन पनि निर्देशन दिएको छ । बैंककै कर्मचारी पनि सबै आउँदा सामाजिक दुरी कायम नभई कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै सिमित कर्मचारीले मात्र सेवा दिन निर्देशन दिएको हो ।
बैंकर्स संघका अध्यक्ष भूवन दाहालले थोरै शाखा र कर्मचारीबाटै सेवा दिन निर्देशन आएकाले राष्ट्र बैंकको निर्देशनलाई कार्यान्वयन गर्ने बताए । राष्ट्र बैंकको सो निर्देशनपछि बैंकहरु एक दिन बिराएर वा सातामा २ पटक मात्र खुल्लेछन् । सरकारले मंगलबार सबै पासहरु खारेज गरिसकेको छ । बाणिज्य बैंकहरुलाई २० वटा र विकास बैंक तथा फाइनान्स कम्पनीहरुलाई १० वटा पासको ब्यवस्था गरिएको छ ।
प्रकाशित: ३१ बैशाख २०७७ १७:४३ बुधबार