1
1
Kendrabindu - News & Articles from Nepal

चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति साढे ३६ अर्ब बचतमा

1
1
1
1
1
1
1

काठमाडौं ।
चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति बचतमा रहेको छ । यस अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोडले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत महिनासम्मको मुलुकको आर्थिक अवस्थाले शोधनान्तर स्थिति बचतमा रहेको देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोडले घाटामा रहेको थियो । त्यसैगरी, यस अवधिमा चालु खाता घाटा १३५ अर्ब ५४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २०४ अर्ब ० करोड रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको नौ महिनामा १ अर्ब ८० करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब १ करोड रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ६२ करोड र प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब १० करोड रहेको थियो ।

त्यसैगरी, यस अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ९.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १०.६ प्रतिशतले बढेको थियो । चैत मसान्तमा चल्ती, बचत र मुद्दतीको कुल निक्षेपमा क्रमशः ८.५ प्रतिशत, ३२.२ प्रतिशत र ४९.३ प्रतिशत अंश रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३३.६ प्रतिशत र ४७.३ प्रतिशत रहेको थियो ।

त्यस्तै, चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.४ प्रतिशत रहेको छ । गत चैत मसान्तमा यस्तो निक्षेपको अंश ४५.२ प्रतिशत रहेको थियो । त्यस्तै, अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १६.५ प्रतिशतले बढेको थियो । बैंक तथा वित्तीय संस्थाको ०७६ चैत मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.१ प्रतिशत घरजग्गाको धितोमा र १३.३ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

प्रकाशित: ५ जेठ २०७७ ११:०९ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी