देशभरमा सडक सञ्जालको अवस्था कस्तो ?

काठमाडौं ।

देशभरमा रणनीतिक र स्थानीय सडक सञ्जालको लम्बाइ ३४ हजार ३४७ किलोमिटर पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार गत फागुनसम्ममा देशभरमा कालोपत्र सडक १५ हजार २५४ किमी, खण्डस्मिथ नौ हजार २५१ किमी र कच्ची सडक नौ हजार ८४२ किमी निर्माण भएको छ ।

देशभरका रणनीतिक र स्थानीय सडकसमेत गरी १५ हजार २५४ किलोमिटर कालोपत्र, नौ हजार २५१ किमी खण्डस्मिथ र नौ हजार ८४२ किमी कच्ची सडक निर्माण भएको छ । सर्वेक्षण अनुसार सङ्घीय सरकारले ५५९ किमी सडक कालोपत्र, ६५७ किमी सडक खण्डस्मिथ र २५२ किमी कच्ची सडकको निर्माण गरेको छ । फागुनसम्ममा नै १५७ किमी सडक आवधिक मर्मतसम्भार सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा ११२ किमी सडक आवधिक मर्मत भएको थियो ।

सङ्घीय सरकारले स्थानीय सडक र राष्ट्रिय गौरवका सडकमा गरी १२९ पुल निर्माण सम्पन्न गरेको छ । तीन पुलको लक्ष्य लिएकामा आधाभन्दा कम मात्रै सम्पन्न भएको छ । गत आवमा देशमा २३० पुल निर्माण भएको थियो ।

प्रदेश अनुसार हेर्दा यो अवधिमा सबैभन्दा बढी वाग्मती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा सडक निर्माण भएको पाइन्छ । वाग्मती प्रदेशमा २५ दशमलव १२ र कर्णाली प्रदेशमा चार दशमलव ४४ प्रतिशत सडक निर्माण भएको छ । प्रदेश १ मा ७०३ किमी, प्रदेश २ मा ३४४ किमी, वाग्मती प्रदेशमा एक हजार २०५ किमी र गण्डकी प्रदेशमा ५७७ किमी सडक कालोपत्र भयो । त्यस्तै, प्रदेश ५ मा ८४५ किमी, कर्णाली प्रदेशमा ७९ किमी र सुदूरपश्चिम प्रदेशमा १९७ किमी रहेको सडक कालोपत्र भएको छ ।

राष्ट्रिय गौरवका आयोजनातर्फ मध्यपहाडी (मध्यपहाडी) लोकमार्ग १४० किमी कालोपत्र र १८६ किमी सडक ग्राभेल सम्पन्न भएको छ । हुलाकी राजमार्ग १४२ दशमलव पाँच किमी सडक कालोपत्र भएको र दुई सय किमी सडक ग्राभेल भएको छ । सो आयोजनामा हालसम्म २७० किमी सडक कालोपत्र, ३२५ किमी ग्राभेल र ८५ पुल सम्पन्न भइसकेको छ । उत्तर दक्षिण करिडोर अन्तर्गत कालीगण्डकी करिडोरको ४१ किमी सडक दुई लेनमा ग्राभेल भएको छ भने दुईवटा पुल सम्पन्न भएको छ । ४३५ किमी सडक खण्डको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । कर्णाली करिडोर अन्तर्गत नौ किमी सडक ट्रयाक निर्माण १४ किमी सडक चौडा तथा सुधार गर्ने काम सम्पन्न भएको छ । करिडोर अन्तर्गतको हिल्सा–सिमीकोट खण्डको पूरा ट्रयाक सम्पन्न भएको छ । कोशी करिडोर अन्तर्गत नौ किमी ट्रयाक निर्माण र नौ किमी ग्राभेल भएको छ ।

सर्वेक्षणले स्थानीयस्तरमा निर्माण भएका सडकमा कालोपत्र सडक कम र धुले तथा कच्ची सडक बढिरहेको जनाएको छ । कमजोर गुणस्तर भएका कच्ची सडकहरु असुरक्षित रहेको छ । सुरक्षित सडकको पहुँच उल्लेखीय रुपमा वृद्धि हुन नसकेको र यसले गर्दा यात्रा जोखिम र ढुवानी महङ्गो भएको पनि सर्वेक्षणमा उल्लेख छ ।

स्थानीयस्तरमा सञ्चालन भएका स्थानीय विकास तथा कृषि सडक विभाग अन्तर्गत प्रादेशिक तथा स्थानीय सडकमा सबैभन्दा बढी पहाडमा ५४ दशमलव पाँच प्रतिशत र हिमालमा १३ दशमलव सात प्रतिशत सडक निर्माण भएको छ । यो अवधिमा हिमालमा प्रदेशिक सडक दुई हजार १०९ किमी र स्थानीय सडक छ हजार ३२० किमी गरी आठ हजार ४२९ किमी निर्माण भएको छ । पहाडमा नौ हजार ८५३ किमी स्थानीय सडक, २३ हजार ७२१ किमी प्रादेशीक सडक गरी ३३ हजार ५७४ किमी निर्माण सम्पन्न भएको छ । तराईमा पाँच हजार ८० किमी प्रादेशिक सडक र १४ हजार ३१२ किमी स्थानीय सडक गरी जम्मा १९ हजार ३९१ किमी सडक निर्माण भएको छ ।

स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत गत फागुनसम्ममा १३९ किमी सडक कालोपत्र, ५८ किमी सडक ग्राभेल र ३३३ किमी आवधिक मर्मत सम्पन्न भएको छ ।

१६ किमी रेलमार्ग निर्माण

रेलमार्गतर्फ चालू आवमा १६ किमीसमेत ५६ किमी रेलमार्ग निर्माण सम्पन्न भएको छ । अहिलेसम्म २९ दशमलव एक प्रतिशत ट्रयाक निर्माण सम्पन्न भएको छ । यही अवधिमा केरुङ–काठमाडौँ र वीरगञ्ज–काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको छ ।

देशभरका सबै तुइन विस्थापित

यो अवधिमा १४४ झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ भने मुलुकका विभिन्न स्थानमा रहेका १२६ तुइनमध्ये सबै झोलुङ्गे पुलबाट विस्थापित भएका छन् ।रासस

प्रकाशित: १४ जेष्ठ २०७७ ०७:३८ बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी