सरकारले विदेशमा रहेका नेपाली ल्याउने भनेपछि प्रवासी कामदार उत्साहित

सरकारले विदेशमा रहेका नेपाली ल्याउने भनेपछि प्रवासी कामदार उत्साहित


काठमाडौं ।
सरकारले कोभिड १९ का कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई स्वदेश फर्काउने निर्णय गरेसँगै युएईमा रहेका नेपालीहरु घर फर्किन उत्साहित भएका छन् ।

शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले पहिलो चरणमा भारतबाहेकका तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई आगामी सातादेखि स्वदेश फर्काउने निर्णय गरेको थियो । सरकारको यो निर्णयसँगै लामो समयदेखि घर फर्किन तयार भएर बसेका नेपालीहरुमा खुसियाली छाएको छ।

कम्पनीमा राजीनामा दिएर कोठामा बसिरहेका झापा बिर्तामोडका मोहन पनेरु सरकारले घर फर्काउने निर्णय गरेको थाहा पाउनसाथ खुशीले गदगद बनेको बताउँछन् । उनी ३ महिनादेखि अबुधाबीको मुसाफामा रहेको क्याम्पमा घर फर्किने बाटो हेर्दै बसेका थिए।

यस्तै कम्पनीको हिसाबकिताब मिलाएर हातमा टिकट काट्नसाथ लकडाउनमा परेर युएईमै फसेका पूर्व राष्ट्रिय खेलाडी महोत्तरीका हरि महतो अब घर फर्किन पाउने आशा पलाएको बताउँछन्। उनी नेपाल प्रहरीको जागिर छोडेर युएई आएको ७ वर्ष पूरा भईसकेको छ। उनले पनि कम्पनीमा राजीनामा दिएर कोठामा बसेको ४ महिना भयो।

६ वर्षदेखि अबुधाबीमा कार्यरत झापाका कृष्ण प्यासी पनि सरकारको घर फर्काउने निर्णयले खुसी बनेका छन् । दिनप्रतिदिन बढिरहेको कोभिड १९ को प्रकोप र कार्यस्थलमा थपिएको चुनौतीका कारण उनी यथाशीघ्र घर फर्किने मनस्थिति बनाउँदै थिए । यहि बेला आएको सरकारी निर्णयले घर फर्किन झन उत्साहित बनाएको उनी बताउँछन् ।

दूतावासको तयारी कस्तो छ ?

कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश ल्याउने सरकारी निर्णयसँगै विदेशस्थित नेपाली राजदूतावासहरुको सक्रियता बढेको छ । युएईको अबुधाबीस्थित नेपाली राजदूतावासले पनि परराष्ट्रबाट उद्धारको प्रक्रिया अघि बढाउन निर्देशन पाए लगत्तै घर फर्किन चाहने नेपालीहरुको तथ्यांक संकलन र अभिलेखिकरणलाई द्रुतता दिएको छ।

अबुधाबीस्थित नेपाली राजदुतावासकी नियोग उपप्रमुख एवं प्रवक्ता रिता धितालले कुरा गर्दै अप्ठ्यारोमा परेर घर फर्किन आतुर रहेका नेपालीहरुलाई घर फर्काउने प्रबन्ध मिलाउन दूतावासले तयारी थालिसकेको बताइन् । घर फर्किन चाहनेहरुको तथ्यांक अध्यावधिक गर्ने, सम्बन्धित व्यक्तिहरुसँग सम्पर्क गर्ने , आवश्यक कागजात संकलन गर्ने जस्ता कार्यमा दूतावास लागि परेको धितालले जानकारी दिइन् ।

घर फर्किन चाहनेहरुको विवरण संकलन गर्न युएई दूतावासले विकास गरेको अनलाईन फारममा शुक्रबारसम्ममा २० हजार जनाले आवेदन दिइसकेका छन् । सरकारले यिनै मध्येबाट प्राथमिकता निर्धारण गरेर क्रमशः स्वदेश लैजाने नेपाली दूतावासले जनाएको छ। यसबाहेक दूतावासको वेबसाइटसम्म पहुँच नभएर अनलाईन फारम भर्न नपाएकाहरुलाई समेत प्राथमिकतामा राखेर स्वदेश पठाइने दूतावासले जनाएको छ।

करार अवधि सकिएका , सम्बन्धित मुलुकले क्षमादान दिएका तथा अप्ठ्यारोमा परेर स्वदेश फर्किन सम्बन्धित देशस्थित नेपाली दूतावासमा आवेदन दिएका नेपालीलाई प्राथमिकता दिएर स्वदेश फर्काउने सरकारको तयारी छ । विदेशमा समस्यामा परेकाको संख्या धेरै भए पनि पहिलो चरणमा तत्काल २५ हजारलाई लगिनेछ । विदेशमा रोकिएका सरकारी कर्मचारीलाई पनि प्राथमिकतामा राखिएको छ ।नागरिकबाट

Logo