काठमाडौं
मुलुककै ठूलो सोलार विद्युत आयोजनाबाट १.२५ मेगावाट विद्युत थपिएको छ । नेपाल विद्युत प्राधिकरणले नुवाकोटको देवीघाटमा निर्माण गरिरहेको सोलार विद्युत् आयोजनाबाट सो विद्युत थपिएको हो । सो आयोजनाबाट गत बुधबारबाट उत्पादन सुरु भएको प्राधिकरणले जनाएको छ । दिउसो घाम लागे अनुसार १.२५ मेगावाट जडित क्षमतामध्ये ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुने बताइएको छ ।
देवीघाट विद्युत केन्द्रको जग्गामा राखिएको सो सोलार प्यानलमार्फत दिउसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको प्राधिकरणले जनाएको छ । सो आयोजनामा ब्याट्री राखिएको छैन । त्यसैले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने बताइएको छ ।
देवीघाट विद्युत केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र विद्युतगृह नजिक रहेका तीन ठाउँमा ५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान गरिएको प्राधिकरणले जनाएको छ । जसमध्ये अहिले देवीघाट विद्युतगृह नजिकको एक ठाउँको प्यानलबाट उत्पादन भएको विद्युत् प्रणालीमा जोडिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत् उत्पादन हुन्छ । प्रधिकरणले त्यहाँबाट उत्पादित विद्युत जडान गर्न ६६÷३३ केभीको सब स्टेशन निर्माण गरिरहेको छ ।
सो आयोजनाको थप १० मेगावाट विद्युत् डेढ महिनाभित्रमा ग्रीडमा जोडिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । कुल २५ मेगावाटमध्ये बाँकी हिस्साको काम अगाडि बढिरहे पनि निर्माण गर्न केही समय लाग्ने प्राधिकरणले जनाएको छ ।
प्रकाशित: २२ जेठ २०७७ १७:३३ बिहीबार