काठमाडौं ।
निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमाको भुक्तानी गर्न सुरु गरेका छन् ।
बीमा कम्पनीहरुले कोरोना बीमा गरेका बिमित संक्रमितहरुको दाबी पर्न थालेपछि भुक्तानी गर्न सुरु गरेका हुन् । कोरोना बीमा गरेको बिमित मध्ये हालसम्म ४ जनालाई कोरोना पुष्टी भएका छन् । जसमा नेको इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, र शिखर इन्स्योरेन्स कम्पनी लगायतका बिमितहरु रहेका छन् ।
बिमक संघका प्रवक्ता चंखी क्षेत्रीले नेको इन्स्योरेन्सको दाबी मात्रै जानकारीमा रहेको बताए । नेको इन्स्योरेन्सले कोरोना भएको बिमितलाई १ लाख रुपैयाँ आज दावी भुक्तानी गर्दैछ । यस्तो भुक्तानी पूलमार्फत हुने बीमक संघले जनाएको छ । कोरोना बीमा गरेका बीमितले दावी पूलमा आएपछि मात्र त्यसको दावी ठहरिने संघले जनाएको छ । हालसम्म पूलमा नेको इन्स्योरेन्सको मात्रै दावी पुगेको छ । अरु इन्स्योरेन्समा पनि बिमित संक्रमितको दावी आइरहेको कुरा सुनेको उनले बताए । कोरोना भाइरसका संक्रमित बढिरहेका बेला दाबी पनि बढ्ने उनले बताए । आईएमई जनरल इन्स्योरेन्सबाट कोरोना बीमा गरेका एक जना स्वास्थ्यकर्मीलाई तथा राष्ट्रिय बीमा कम्पनीबाट कोरोना बीमा गराएका राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई कोरोना भाइरस पुष्टि भइसकेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण सुरु हुन थालेपछि बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुलाई कोरोना भाइरस बीमालेख जारी गर्न निर्देशन दिएको थियो । त्यस लगत्तै बीमा कम्पनीहरुले धमाधम कोरोना बीमा गर्न थालेका थिए । अझ यस्तो बीमा संस्थागत रुपमा निकै भएको थियो । तर कोरोना भाइरसका संक्रमित बढ्दै जान थालेपछि बीमा कम्पनीहरुले थेग्न नसक्ने भन्दै बन्द गर्न समितिले नै बन्द गर्न निर्देशन दिएपछि कोरोना बीमा बन्द भएको थियो । तर सरकारले सहयोग गर्ने भएपछि पुनः सो बीमा कार्यक्रम सुरु भएको छ ।
प्रकाशित: ३० जेठ २०७७ १४:१५ शुक्रबार