कृषिमा ४१ अर्ब ४० करोड, बजेट बढे पनि मन्त्रालय असन्तुष्ट

कृषिमा ४१ अर्ब ४० करोड, बजेट बढे पनि मन्त्रालय असन्तुष्ट


काठमाडौं ।
कृषिमा श्रम परिचालन, व्यावसायीकरण, यन्त्रीकरण र आधुनिकीकरण नाराका साथ सरकारले आगामी आर्थिक वर्ष कृषि तथा पशुपन्छीतर्फ ४१ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७,७८ को बजेट वक्तव्यमा बिहीबार यस्तो जानकारी दिएका हुन् । यसमध्ये २९ अर्ब ३२ करोड संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई, यस्तै ९ अर्ब प्रादेशिक मन्त्रालय र २ अर्ब स्थानीय तहलाई विनियोजन गरिएको छ।

चालु आर्थिक वर्षमा संघीय मन्त्रालयले २८ अर्बको हाराहारीमा बजेट पाएको थियो । पछिल्लो समयमा मन्त्रालयले थप ९ अर्ब ५० करोड विनियोजन गर्न मन्त्रिपरिषद्को कार्यालयलाई प्रस्ताव गरेको थियो । माग अनुसार बजेट विनियोजन नहुँदा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असन्तुष्टि व्यक्त गरेको छ।

बालीको उत्पादन सम्भावनाका आधारमा ठूलो परिमाणमा उत्पादन गर्नेलाई आवश्यक प्रोत्साहन दिने नीति बजेटले लिएको छ। उनले कृषिको माध्यमबाट रोजगारी सिर्जना गर्ने क्षेत्रको रुपमा पहिचान गरी आवश्यक कार्यक्रम ल्याइएको दावी गरेका छन्।

अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा दूध, मासु र तरकारीमा आत्मनिर्भर हुने दाबी गर्दै कार्यक्रमको घोषणा गरेका छन्। यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई परिमार्जन गर्दै एक स्थानीय तहमा एक बालीको पकेट क्षेत्र कार्यक्रमको घोषणा गरेका छन्।

आगामी वर्षमा कृषि तथा पशुपन्छीतर्फ २ सय ५० पकेट क्षेत्र विकास गरिनेछ। यसका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन गरेका छन्। समयमै किसानलाई रासायनिक मल उपलब्ध गराउन भन्दै उनले मलको हकमा ११ अर्ब रुपैयाँ विनियोजन गरेका छन् । कृषि उपजको बजार विस्तार गर्न सबै स्थानीय तहमा कृषि बजार पूर्वाधारको विकास गर्ने र काठमाडौंको चोभारमा अलपत्र परेको निर्माणाधीन बजारलाई पूर्णता दिएर सञ्चालनमा ल्याउने उनले घोषणा गरेका छन्।अन्नपूर्णबाट

Skip This
Logo