अर्थ प्रदेश ३

सार्वजनिक यातायात संचालनको टुंगो छैन, यातायात विभाग तयारी अवस्थामा

15 Shares

काठमाडौं ।
लकडाउनका कारण लामो समय थन्किएका सार्वजनिक सवारी साधनहरु संचालन गर्ने टुंगो अझै लागेको छैन ।

हरेक दिन कोरोना भाइरसका संक्रमितहरु बढिरहेकाले सरकारले सार्वजनिक यातायात कहिले संचालन गर्ने भन्ने टुंगो लगाउन नसकेको हो । ‘सार्वजनिक यातायात कहिले खुल्छन् भन्ने टुंगो लागेको छैन ।’ यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भने । सरकारले सार्वजनिक यातायात संचालन गर्ने निर्णय गर्ने वित्तिकै विभाग तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

‘हामी यातायात संचालन गर्न तयारी अवस्थामा छौँ ।’ महानिर्देशक हमालले भने । सार्वजनिक यातायात संचालन गर्न छलफल गरिरहेको र आवश्यक पर्ने वित्तिकै संचालन गर्न तयार रहेको विभागको भनाइ छ । विभागले कार्यविधी नै बनाएर सार्वजनिक यातायात संचालन गर्न छलफल गरिरहेको छ । सो कार्यविधी अनुसार यात्रुहरुलाई सुरक्षित यात्रा गराउन यात्रुहरुबीच कसरी सामाजिक दुरी कायम राख्ने ? अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने, भाडा दिँदा कसरी दिने, थोरै यात्रु राख्ने लगायतका कुराको पालना गर्नुपर्नेछ । तर सो कार्यविधी पास भने भइसकेको छैन । सो कार्यविधी पास भइसकेपछि प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।

सरकारले विभिन्न उद्योग व्यवसाय, बैंक, बीमा लगायतका क्षेत्र खुल्ला गर्दा र सार्वजनिक यातायात खुला नगर्दा समस्या निम्तीने भन्दै यस विषयमा छलफल थालेको हो । सरकारले सार्वजनिक सवारी साधन कति चरणमा र ठूला तथा साना सवारी साधन कति संख्यामा संचालन गर्ने भन्ने विषयमा छलफल गरिरहेको छ । कोरोना भाइरसको महामारीका कारण सुरक्षा अपनाउँदै सार्वजनिक यातायात संचालन गर्न विभागले छलफल गरिरहेको छ ।

सरकारले लकडाउनको तीन महिना पुग्नै लाग्दा सार्वजनिक यातायात संचालन गर्न सक्रियता बढाएको छ । सार्वजनिक यातायात कसरी संचालन गर्ने भन्दै सरकारले त्यस विषयमा सक्रियता बढाएको हो । सरकारले सबैभन्दा कम प्रभावित क्षेत्रबाट सार्वजनिक यातायात संचालन सुरु गर्नेछ ।

स्वास्थ्य मन्त्रालयले सबैभन्दा बढी जोखिम (रेड जोन), मध्यम जोखिम (एल्लो जोन) र जोखिम नै नभएको (ग्रीन जोन) पहिचान गर्नेछ । त्यसकै आधारमा सार्वजनिक यातायात संचालन गर्ने सरकारको तयारी छ । ‘रेड, एल्लो र ग्रीन जोन यसअघि नै छलफल भएको महानिर्देशक हमालको भनाइ छ ।

कोरोना महामारीका कारण सरकारले गत चैत्र ११ गतेदेखि मुलुकैभरी लकडाउन गरेको छ । झण्डै तीन महिनादेखि थन्किएका सार्वजनिक यातायात संचालन गर्न सरकार तातेको हो । सरकारले कोरोना संक्रमणको जोखिमको अवस्था हेरेर लकडाउन खुकुलो बनाएपछि सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनेर सम्बन्धीत सरोकारवालाहरुसँग छलफल गरेको हो । विभागले ट्राफिक, यातायात व्यवसायी तथा अन्य सरोकारवालाहरुसँग छलफल गरिरहेको छ ।

लामो समयसम्म सवारी साधन थन्किएकाले ८० प्रतिशत सवारी मर्मत गर्नूपर्ने अवस्था आएको छ भने लकडाउन खुलेर सरकारले सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरे पनि तत्काल संचालन गर्न भने समस्या पर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । सार्वजनिक यातायात संचालन गर्दा चालक, सहचालक तथा यात्रुहरुको स्वास्थ्यमा विशेष ध्यान पु¥याइनु पर्ने महासचिव सिटौलाको भनाइ छ ।

सार्वजनिक यातायात क्षेत्रमा झण्डै १० खर्ब भन्दा बढीको लगानी रहेको छ । जसमा ८ खर्ब रुपैँयाँ बैंकहरुको लगानी छ । लामो तथा छोटो दूरीका गरी ३ लाखभन्दा बढी साना, ठूला सार्वजनिक यातायातका सवारी हाल ग्यारेजमा थक्किएर बसेका छन् । प्रत्यक्ष रुपमा ६० लाख भन्दा बढी मजदुरहरु यस क्षेत्रमा कार्यरत छन् ।

प्रकाशित: ३ असार २०७७ १५:०० बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी