काठमाडौं ।
विभिन्न सात परियोजनामा १ खर्ब ८६ अर्ब रुपैँयाँ बराबरको लगानी स्वीकृत भएको छ । लगानी बोर्डले ती विभिन्न सात परियोजनाहरुका लागि १ खर्ब ८५ अर्ब ४३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो । लगानी बोर्डले पाँचवटा जलविद्युत आयोजना र दुई वटा सिमेन्ट उद्योग परियोजनामा लगानी गर्ने गरी निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ती परियोजनाहरुमा गरिने लगानी स्वीकृत गरेको हो ।
बोर्डले अपर मर्स्याङदी हाइड्रोपावर २ परियोजनाका लागि ७८ अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । आयोजना ३२७ मेगावाटको हो । यस्तै, आँखुखोला हाइड्रोपावर परियोजनाका लागि ६ अर्ब ३० करोड रुपैँयाँ बराबरको लगानी स्वीकृति भएको छ । यो परियोजनाको क्षमता ४२.९ मेगावाट हो । त्यस्तै, सो बैठकले इसुवा खोला हाइड्रोपावरका लागि १३ अर्ब ५७ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ । यो परियोजनाको क्षमता ९७.२ मेगावाट हो ।
त्यस्तै, बोर्डका अनुसार १६४ मेगावाटको कालीगण्डकी गर्ज हाइड्रोपावरका लागि २८ अर्ब ६ करोड रुपैयाँको लगानी स्वीकृत भएको छ । म्याग्दी खोला हाइड्रोपावर परियोजनाका लागि १० अर्ब ३१ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ । यस परियोजनाको क्षमता ५७.३ मेगावाट छ । यस्तै, बैठकले दाङ सिमेन्ट इन्डष्ट्रिज परियोजनाका लागि ३२ अर्ब ५० करोड रुपैयाँ र सम्राट सिमेन्ट इन्डष्ट्रिजको १५ अर्ब ५ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको बोर्डले जनाएको छ ।
बाँके कोहलपुर तथा कपिलवस्तुको वाणगंगामा सञ्चालन हुने २० मेगावाट स्टोरेज क्षमता सहित १२५ मेगावाटका छुट्टाछुट्टै सौर्य उर्जा परियोजना सार्वजनिक निजी साझेदारीमा विकास र सञ्चालन गर्न रिसेन इनर्जी सिंगापुरलाई सर्वेक्षण अनुमति समेत दिएको बोर्डद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
प्रकाशित: ६ असार २०७७ १४:१९ शनिबार