काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले ४० वर्ष यता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भएको बताएका छन् ।
एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्वारा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्ष यता मेहनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताए । उनले कृषि विकासका लागि भाषण गर्ने, ठेक्का पट्टा गर्ने, विभिन्न प्रोजेक्टहरु ल्याएर विगार्ने काम गरिएको बताए ।
लामो समयसम्म बिगार्दै आएको कृषि व्यवस्थालाई सुधार्न अझै केही समय लाग्ने मन्त्री भुसालले बताए । ३०/४० वर्षदेखि बिग्रदै आएको कृषि ३ वर्ष भित्रमा सुधार्न चुनौति रहेको समेत उनले बताए ।
देशमा औद्योगीक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि वस्तुको व्यवस्थापन बजारलाई छोडदा कृषि व्यवस्था र प्रणाली नै बिग्रेको मन्त्री भुसालले बताए । उनले किसानका परम्परागत ज्ञान र सीपलाई विकास गर्न नसक्दा पनि नेपालको कृषि क्षेत्र पछाडी परेको बताए । उनले पछिल्लो ३०/४० वर्ष यताको स्थितिलाई हेर्दा हेर्दै सबै कृषि उपज किनेर खानु पर्ने दिन आएको बताए ।
कोरोना महामारीले भने कृषि नै जीवन हो भनेर ब्युँझाएको मन्त्री भुसालले बताए । कोरोनाले सिकाएको पाठलाई फेरि पनि विर्सने काम भयो भने ठूलो गल्ती हुने पनि उनले बताए । गएको दशकमा कृषि मन्त्रालय भित्र पनि मन्त्री कसरी बलियो बन्ने, मन्त्रालयलाई कसरी बलियो बनाउने भन्ने तर्फ मात्रै ध्यान केन्द्रित भएकाले मन्त्रालयले कृषि क्षेत्रको विकासमा प्रभावकारी काम गर्न नसकेको बताए । केही दशक खेर गइसकेकाले अब नयाँ व्यवस्था अनुसार कृषि उत्पादनलाई अगाडि बढाउन खोजिएको जानकारी समेत उनले गराए । नयाँ व्यवस्था अनुसार कृषि क्षेत्रमा लाग्ने कुनै पनि किसानको जीवन, स्वास्थ्य, शिक्षा, सुरक्षाका विषयमा सरकारले ग्यारेन्टी लिने गरी व्यवस्थापन गर्न लागिएको मन्त्री भुसालले बताए ।
प्रकाशित: १३ असार २०७७ १४:४१ शनिबार