1
1

लकडाउन सुरु भए यता आजसम्म नेपाल एयरलाइन्सका ६१ चार्टर्ड उडान (भिडियोसहित)

1
1
1

काठमाडौं ।

नेपाल एयरलाइन्सले उच्च स्वास्थ्य सतर्कता अपनाएर चार्टर्ड उडानमार्फत विदेशमा समस्यामा परेका नेपालीहरुलाई उद्धार गर्ने काम जारी राखेको छ । लकडाउन सुरु भए यता मंगलबार बिहानसम्म एयरलाइन्सले ६१ चार्टर्ड उडान मार्फत करिब १० हजार यात्रुलाई सेवा दिइसकेको छ । विमानमा यात्रा गर्दा कोभिड–१९ रोकथामका लागि अपनाइएको सुरक्षाका विधिहरु भने विश्वका अन्य एयरलाइन्सले अपनाएको भन्दा कम नभएको एयरलाइन्सले बताएको छ ।

नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख.दीपु जुहारचनले कोरोना अपरेटिङ प्रोसिड्युअर बनाएर चार्टर्ड उडानलाई व्यवस्थित गरिएको बताए । उनले यात्रुसँग सकेसम्म सम्पर्क कम होस् भन्ने उद्देश्य अनुसार खानेकुरामा प्याक्ड सर्भिस उपलब्ध गराइएको जानकारी दिए । यस्तै विमान भित्र कुनै पनि यात्रुलाई कोरोना भाइरस (कोभिड–१९)को लक्षण देखा परेमा तत्काल आइसेलेटेड गर्ने व्यवस्था विमान भित्रै गरिएको जुहारचनले बताए । विमान भित्र केही समस्या भएमा तत्काल आइसोलेसनमा राख्ने र संक्रमणको जोखिम कम गर्ने मेजर्सहरु अपनाइएको उनले बताए । चालकदलका सदस्यहरुलाई घर जान नदिई होटल क्वारेन्टाइनको व्यवस्था गरिएको समेत जुहारचनले बताए ।

लकडाउनको अवधिमा नेपाल एयरलाइन्सले कार्गो पठाउने र भित्र्याउने काम पनि राम्रो पाएको छ । यस्तै यो अवधिमा करिब २० हजार यात्रु नेपाल भित्रिएको जुहारचनले बताए । उनले भने, ‘यो अवधिभरी हामीले १ लाख ८४ हजार १ सय ८७ केजी कार्गो नेपालबाट बाहिर पठाएका छौं । त्यस्तै १ लाख ९३ हजार ९ सय २७ केजी कार्गो भित्र्याएका छौं । यो बिचमा हामी १४ वटा नयाँ गन्तव्य छ हाम्रो । लगत्तै थ्रि थर्टिमा २ सय ७० र ३२० जहाजमा १ सय ४५ यात्रुको अन्दाजि गर्दा लगभग १० हजार जति यात्रु ओसारी सकेका छौं ।’

नेपाल एयरलाइन्सका पाइलट सुरज भण्डारीले कुनै पनि उडान भर्दा गम्भिरतापूर्वक नै स्वास्थ्य सतर्कता अपनाइएको बताए । उनले कोरोना भाइरसको सम्बन्धमा सम्पूर्ण जानकारी राखिएकाले कुनै डर नभएको बताए । नियमित उडान नभएपछि चार्टड उडानमार्फत नयाँ एयरपोर्टमा पुग्नु परेको अवस्थामा स्वास्थ्यलाई प्राथमिकता दिएर भौतिक दूरी कायम गर्दै गम्भिरतापूर्वक सावधानी अपनाइएको उनले बताए । भण्डारीले नेपाल एयरलाइन्सले नागरिक उड्डयन प्राधिकरणको अनुमति लिएर स्टाण्डर्ड अपरेटिङ प्रोसिड्युअर बनाएको र त्यहि अनुसार नै काम गरिएको बताए । ति सबै जानकारीलाई सही तरिकाले प्रयोग गर्न आफूहरुले ध्यान दिएकोले कुनै असुरक्षाको महसुस नभएको भण्डारीले बताए । उनले एकजना पाइलटले दिनमा एक वटा मात्रै उडान गरिराखेको बताए । पाइलटलाई थकान नहुने गरी तालिका मिलाइएको बताए ।

पाइलट भण्डारीका अनुसार विदेशको एयरपोर्टमा भन्दा नेपालको एयरपोर्टमा बढी स्वास्थ्य सावधानीका विधिहरु अपनाइएको बताए । उनले पाइलट, परिचारिका लगायत सबै कर्मचारीलाई होटल क्वारेन्टाइनमा राखिएकाले भाइरस सर्छ भन्ने कुनै सम्भावना नरहेको बताए । त्यसका लागि भौतिक दुरी कायम गर्ने, पीसीआर परीक्षण गर्ने लगायतका सुविधाहरु कम्पनीले दिने भएकाले संक्रमण फैलिने कुनै जोखिम नभएको बताए । उनले भने, ‘‘अब सोसियल डिस्टेन्स मेन्टेन गर्ने, हामीलाई कम्पनीले पीसीआर परीक्षण पनि गरेर पठाउँछ । त्यस्तै अहिले त हामी क्वारेन्टाइनमा छौं । क्वारेन्टाइनबाट निस्किसकेपछि हामी के कन्फिडेन्स भएर निस्कन्छौं भने हामीलाई कोरोना भाइरसको इन्फेक्सन छैन भन्ने कन्फिडेन्स भएर निस्कने भएको हुनाले हामी आफु कन्फिडेन्स भइसकेपछि त्यस्तो डराउनुपर्ने अवस्था छैन र अरुले पनि अहिले सम्म त्यस्तो व्यवहार गरेको महसुस गरेका छैनौं ।’

उनले महामारीको अवस्थामा आफै अनुशासित बन्नुपर्ने बताए । उडानको क्रममा गर्न हुने र गर्न नहुने सम्बन्धमा नेपाल एयरलाइन्स, डब्लुएचओले दिइएको निर्देशिका अनुसार काम गरिएको उनले बताए ।

विमानकी परिचारिका शोनिका केसीले सामान्य अवस्थामा भन्दा अहिले मनोविज्ञानमा फरक पर्ने गरेको बताइन् । यात्रुसँग बोल्दा, सिकाउँदा, साबधानी अपनाएर काम गर्नु परेकाले केही फरक महसुस भइरहेको बताइन् । उनले भनिन् ‘पहिला साइकोलोजिकल्ली त्यस्तो केही पनि हुँदैन थियो । उडानबाट नर्मल आयो गयो त्यस्तो केही हुँदैन थियो । तर अहिलेको समयमा धेरैकुरा सोच्नुपर्ने हुन्छ । जस्तै यात्रुसँग डिल गर्दा, उहाँहरुसँग डिस्टेन्स मेन्टेन गरेर बोल्नु पर्ने, उहाँहरुलाई सिकाउन पर्ने, क्याबिनमा हिंडदा पनि धेरै हिडडुल नगर्नुस भनेर भन्नुपर्ने हुन्छ । खानाको कुरामा पनि पहिला हामीले हटमिल दिन्थ्यौं भने अहिले चाहिं प्याकिङ मिल दिन्छौं । सकेसम्म कम नै कुरा गर्छौं । ’

उनले अहिलेको अवस्थाको बारेमा सबै यात्रु जानकार हुने भएकाले पनि काम गर्न सजिलो भएको बताइन् । यात्रुहरु पनि आफैं सुरक्षित हुने हुँदा डर मान्नु नपर्ने तर अझै पनि सकेसम्म धेरै सम्पर्कमा नआउँ भन्ने मानोविज्ञानले काम गर्ने बताइन् । तुलनात्मक रुपमा विदेशी एयरलाइन्सहरु भन्दा नेपालको एयरलाइन्समा कुनै कमि नभएको परिचारिका केसीले बताइन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि हवाई उडान पनि बन्द रहेको थियो । तर पछिल्लो समय विदेशमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउने भएपछि भने नेपाल एयरलाइन्सले चार्टड उडान मार्फत बिजनेस पाएको हो । विश्वभर कोरोनाको संक्रमण फैलिएको अवस्थामा विभिन्न मुलुकमा चार्टड उडान गर्नु निकै जोखिमपूर्ण छ । यस्तो अवस्थामा एयरलाइन्सका पाइलट तथा परिचारिकाहरुले कसरी स्वास्थ्य सतर्कता अपनाइरहेका छन् , त्यो महत्वपूर्ण हुन्छ । त्यसैले अहिलेसम्म नेपाल एयरलाइन्सले अपनाएका सावधानीहरु विश्वका अरु एयरलाइन्सहरुले गरेका सावधानी जत्तिकै रहेको एयरलाइन्सका कर्मचारीहरुले बताएका छन् । त्यसैले जुलाई ८ देखि नेपाल एयरलायन्सले युएन को फ्लाइट गर्ने तयारी समेत गरेको छ ।

उडान सकेपछि पाइलट तथा परिचारिका लगायत अन्य कर्मचारीहरु एयरपोर्टबाट सिधै घर नगई एयरलाइन्सले व्यवस्थापन गरेको होटल क्वारेन्टाइनमा बस्नुपर्छ । नेपाल एयरलाइन्सले पाइलट तथा परिचारिकाका लागि सोल्टी होटलमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । होटल आफै एयरपोर्टमा लिन जाने र होटल पुगेपछि पनि सबै सामानहरुको स्यानिटाइज गरी सावधानी पूर्वक होटलको कोठामा गएर बस्ने व्यवस्था गरिएको छ ।

प्रकाशित: १६ असार २०७७ १६:३० मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी