1
1
Kendrabindu - News & Articles from Nepal

असार तेस्रो सातासम्म बैंकमा २२ अर्बले निक्षेप बढ्यो

1
1
1
1
1
1
1

काठमाडौं ।

असार तेस्रो सातासम्म बैंकहरूको निक्षेप २२ अर्ब रुपैयाँले बढेको देखिएको छ ।
जेठ अन्तिम सातासम्म ३० अर्बले बढेको निक्षेप संकलन असार पहिलो साता पनि १८ अर्ब तथा दोस्रो साता ८ अर्ब रुपैयाँले बढेको नेपाल बैंकर्स संघले जनाएको छ ।

गत शुक्रबारसम्म वाणिज्य बैंकहरूले ३३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । त्यस्तै, बैंकहरुको कर्जा लगानी भने २८ खर्ब ९ अर्ब रुपैयाँ छ । सरकारले कोरोना भाइरसका कारण चैत ११ गतेदेखि लकडाउन गरेको छ । सो अवधीदेखि बैंकहरुको कर्जा लगानी लगातार रुपमा घटेको छ । लकडाउनको अवधीमा बैंकहरुले नयाँ कर्जा लगानी गरेका छैनन् । गत चैतसम्ममा बैंकहरूको कर्जा लगानी २८ खर्ब ४५ अर्ब रुपैयाँ रहेको थियो सो पश्चात बैंकहरूको कर्जा लगानी लगातार घटिरहेको छ । अब लकडाउन खुकुलो बन्दै गइरहेकाले कर्जाको माग बढ्दै जाने बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । असारको पहिलो साता ५ अर्ब रुपैयाँले घटेको कर्जा दोस्रो साता पनि केहि कर्जा असुली हुँदा २ अर्बले घटेको बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

लकडाउन केही खुकुलो भए पश्चात कर्जा लगानी बढ्ने बैंकहरुको आँकलन रहे पनि हालसम्म कर्जा लगानी विस्तार भने हुन सकेको छैन । बैंकले ठूला परियोजनाहरुमा नयाँ कर्जा प्रवाह नै गरेका छैनन् । कर्जा लगानी रोकिएपछि तरलता बैंकमा थुप्रिएको छ । बैंकलाई कहाँ लगानी गर्ने भन्ने अहिले चिन्ता बढेको छ । लकडाउन अवधि भरी बैंकहरूको कर्जा लगानी ३६ अर्ब भन्दा बढीले घटेको छ । पछिल्लो समय कोरोनाको मारमा परेका उद्योगी व्यवसायीहरूले नयाँ कर्जा लिन सकेका छैनन् भने लिएको ऋणको किस्ता र ब्याज पनि तिर्न सकेका छैनन् । बैंकमा निक्षेप भने बढेको बढ्यै छ ।

प्रकाशित: २२ असार २०७७ १६:५८ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी