काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले सन्तुलित र व्यवहारिक मौद्रिक नीति ल्याएको भन्दै तत्काल कार्यान्वयन गर्नु पर्ने सरोकारवालाहरु बताएका छन् ।
राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्यवयनका लागि कार्यविधी बनाएर अघि बढ्नु पर्ने सरोकारवालाहरुको भनाइ छ । सामान्यतया मौद्रिक नीतिले कोरोनाका कारण प्रभावित भएका विभिन्न क्षेत्रलाई राहत दिन खोजे पनि कार्यान्वयनको पाटो भने चुनौतीपूर्ण रहेको सरोकारवालाहरुले बताएका हुन् ।
नेपाल आर्थिक पत्रकार समाज सेजनले शनिवार आयोजना गरेको वेविनार कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कोरोनाले क्षतिग्रस्त भएको विभिन्न क्षेत्रका लागि राहत गर्ने खालको मौद्रिक नीति आएको भए पनि तत्काल कार्यान्वयन नगरे त्यसको अर्थ नहुने बताए । अध्यक्ष गोल्यानले राष्ट्र बैंकले तत्काल कार्यविधी बनाएर साउनभित्रै लागू गर्नु पर्ने बताए । कार्यान्वयन भए मात्रै अर्थतन्त्र चलायमान हुन सक्ने उनको भनाइ थियो ।
त्यस्तै, व्यवसायी सौरभ ज्योतिले समग्रमा मौद्रिक नीति राम्रो आएको बताए । आफ्ना ७५ प्रतिशत मागहरु पूरा भएको ज्योतिको भनाइ थियो । कोरोनाले क्षति पु¥याएको उद्योग व्यवसायका लागि मौद्रिक नीतिले धेरै कुरा समावेश गरेको भए पनि अर्थतन्त्र चलायमान बनाउन तत्काल कार्यान्वयन गर्नु पर्ने ज्योतीको भनाइ थियो ।
नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले मौद्रिक नीति स्वागतयोग्य भएको र यसको कार्यान्वयनका लागि स्थानीय तह र व्यवसायीसँग समन्वय गरी अगाडि बढ्नुपर्ने बताएका छन् । मौद्रिक नीतिले सहुलियत दरका कर्जा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने नीति ल्याएकाले लक्षित भन्दा दोब्बर कर्जा प्रवाह गर्ने अध्यक्ष अधिकारीको भनाइ छ ।
त्यसैगरी, नेपाल चेम्बर्स अफ कर्मशका उपाध्यक्ष कमलेश अग्रवालले मौद्रिक नीति सकारात्मक रुपमा आएको भए पनि यसलाई तत्काल कार्यान्वयन गर्नु पर्ने बताए । उनले ब्याजदर एक अंकमा ल्याउने र रिफाइनान्सिङ प्रोभिजन सरल बनाउने काम चुनोतीपूर्ण भएकाले त्यसलाई कार्यान्वयनमा राष्ट्र बैंकले ध्यान दिनुपर्ने बताए ।
प्रकाशित: ३ साउन २०७७ १६:४५ शनिबार