1

कोरोनाको असर साना व्यवसायमा : पलायन हुने खतरा बढ्यो

1
1
1

काठमाडौं ।

पछिल्लो समय कोरोना भाइरसका कारण कयौँ व्यापार व्यवसाय पलायन हुने देखिएको छ । मुलुकका विभिन्न स्थानहरुमा खुलेका साना र केही मात्रामा ठूला व्यवसायहरु पनि पलायन हुने खतरा बढेको हो ।

कोरोनाको संक्रमण नभएको अवस्थामा पनि साना तथा मझौला व्यापार तथा ठूला व्यापारहरुमा पनि समस्या आउने गर्छ । जसमा साना व्यसायहरु १५ प्रतिशतको हाराहारीमा पलायन हुने अवस्था हुन्छ । तर अहिले परिस्थिति फरक छ । २०१५ देखि हाम्रो मुलुकमा बढी मात्रामा साना व्यापार तथा व्यवसाय बढेको देखिन्छ । साना व्यवसायहरुलाई टिकाइ राख्न त्यति धेरै पूँजी हुँदैन । त्यसैले ऋणको आधारमा काम गर्नुपर्ने र ऋणको भुक्तानी गर्न नगदको चलायमान भएन भने स्रोत हुँदैन र त्यो व्यवसाय बन्द हुन्छ । अहिलेको अवस्थामा त्यहि भएको हो । नयाँ, सानो र त्यसैमाथि व्यापार नभएपछि पलायन हुने सम्भावना निकै रहन्छ । अहिलेको अवस्थामा न ठूला उत्पादनकर्ताले उत्पादन गर्न सकिरहेका छन् न बाहिरबाट ल्याउन सक्ने अवस्था छ । यसले आर्थिक क्षेत्रमा एउटा जोखिम निम्त्याएको छ । व्यापार व्यवसायलाई अप्ठेरो अवस्थामा पारेको छ ।

राष्ट्र बैंकको राहतले काम गरेन साना व्यवसायलाई

कोरोना भाइरसका कारण सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेको थियो । झण्डै चार महिनासम्मको लामो लकडाउनका कारण उद्योग व्यापार व्यवसाय, यातायात, पर्यटन, लगानी, रेमिट्यान्स लगायतका विभिन्न क्षेत्र प्रभावित भएका छन् । ती प्रभावित क्षेत्रलाई वर्गिकरण गरेर नेपाल राष्ट्र बैंकले विभिन्न राहतका प्याकेज ल्याउनुका साथै कार्यान्वयन समेत सुरु गरेको छ । राष्ट्र बैंकले व्यवसाय गर्नेलाई कर्जामा पहुँच बढाएको मात्रै हो । पहिले पहिलेको तुलनामा राष्ट्र बैंकले धेरै उदार भएर कर्जामा धेरैको पहुँच बढाएको छ । तर राष्ट्र बैंकले बजारको व्यवस्था, कच्चा पदार्थ, विजुलीको व्यवस्था समेट्न सक्ने कुरा भएन । त्यस कारण राष्ट्र बैंकको राहत प्याकेजको फाइदा साना व्यवसाय, कुटिर उद्योग, घरेलु तथा लघु उद्योगहरुले लिन सक्ने देखिँदैन । तर साना तथा मझौला व्यवसायलाई राष्ट्र बैंकको राहत प्याकेजले पलायन हुन बाट रोक्न सक्ने देखिँदैन ।

लकडाउनका कारण सानादेखि ठूला व्यापार व्यवसाय गर्नेहरु अधिकांश आआफ्ना गाउँ पुगेका छन् । अहिले सरकारले लकडाउन खोलेको छ । कोरोनाको संक्रमण घटेर भन्दा पनि अर्थतन्त्रलाई चलायमान बनाउन लकडाउन खोलिएको हो । तर सरकारले लकडाउन खुकुलो गरेसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । यदि यहि गतिमा बढ्दै जाने हो भने पलायन हुने व्यापार व्यवसायको दर अझै घट्न सक्छ । व्यापार पनि नहुने हुँदा भाडामा लिएका घर तथा सटरहरु खाली गर्नुपर्ने अवस्था भएको छ । अहिले मूख्य पर्यटकिय क्षेत्र ठमेल लगायतका अधिकांश ब्यापार व्यवसायहरु बन्द छन् । खुलेका व्यवसाय पनि संचालन हुन सकेका छैनन् ।

खाली हुन थाले घर तथा सटरहरु

लामो समयको लकडाउनका कारण अहिले घर तथा सटरहरु धमाधम खाली हुन थालेका छन् । फ्ल्याट लिनेहरु दुई कोठामा तथा दुई कोठा लिनेहरु एउटा कोठामा सिमित हुन थालेका छन् । व्यवसाय संचालन भइरहेका कयौँ घर तथा सटरहरु खाली भएका छन् । केही समय अघि मुलुकको मूख्य पर्यटकिय स्थल ठमेलका व्यवसायीहरुले सटर भाडा तिर्न नसक्दा घरवेटी र भाडावालामा ५० प्रतिशत भाडामा छुट दिने व्यवस्था भएको थियो । त्यस्तै, सिभिल मलका व्यवसायीहरुले पनि भाडा तिर्न नसक्ने भन्दै आन्दोलन गरेका थिए । सो आन्दोलनबाट व्यवसायीलाई ६० प्रतिशत भाडामा छुट दिने गरी सो आन्दोलनको अन्त्य गरिएको थियो ।

कोरोनाका कारण एकातिर व्यापार व्यवसाय चलेको छैन भने अर्कातिर घरवेटीहरु भाडा घटाउन मानिरहेका छैनन् । केही घरवेटीहरुले भाडा घटाए पनि अधिकांशले घटाएका छैनन् । जसका कारण साना साना व्यवसाय गर्नेहरु सटरसहित आफू बस्ने कोठा समेत छोडेर घर जान बाध्य भएका छन् । भाडाका विषयमा भाडावाला तथा घरवेटीवीच मनमुटाव पनि उत्पन्न भएको छ ।

पलायन व्यवसायको के छ विकल्प ?

अर्थविद केशव आचार्यले ठूला ठूला व्यवसायहरुले आफ्नो विकल्प सोच्न सक्ने भए पनि साना व्यवसायसँग त्यति क्षमता, दक्षता, अनुभव र त्यति अवसर पनि नभएकाले समस्या पर्ने बताए । अर्थविद आचार्यका अनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले एक आपसमा छलफल गरेर यो समस्याको विकल्प खोज्नुपर्छ । ती व्यवसायहरु पूर्णरुपमा रुग्ण भइसकेका हुन् कि होइनन्, के गर्दा ती व्यवसाय संचालन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन तथा छलफल गर्न जरुरी रहेको उनले बताए । यस विषयमा उद्योग विभागले भूमिका निर्वाह गर्नुपर्ने अर्थविद् आचार्यको भनाइ थियो ।

त्यसैगरी, बैंकिङ विज्ञ अनलराज भट्टराईले तत्कालका लागि पलायन व्यवसायको विकल्प कृषि हुन सक्ने बताए । मुलुकको भौगोलिक कारणले सबै ठाउँमा आधुनिक कृषि सम्भव हुन सक्दैन । त्यसकारण आधाुनिक कृषि भन्दा आधारभूत कृषिमा जोड दिनुपर्ने विज्ञ भट्टराईको भनाइ छ ।

प्रकाशित: १५ साउन २०७७ १४:४६ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी