1
1

भदौ १ गतेदेखि चल्ने भनिएकाे लामो दूरीका सार्वजनिक सवारी संचालन अन्योलमा

1
1
1

काठमाडौं ।

पछिल्लो समय कोरोना संक्रमण बढेकाले लामो दूरीका सवारी साधन संचालन अन्योल बनेको छ ।

काठमाडौँ उपत्यकासहित तराईका विभिन्न जिल्लाहरुमा पनि कोरोनाको संक्रमण बढ्दै गएपछि लामो दुरीका सवारी साधन संचालनमा अन्योलता भएको हो । सरकारले असार १ गतेदेखि पहिलो चरणको लकडाउन अन्त्य गरेको थियो । सरकारले लकडाउन खुकुलो बनाउँदै श्रावण ७ गतेदेखि जिल्लाभित्र सवारी साधन संचालन गर्न अनुमति दिएको थियो ।

त्यस यता कोरोनाको संक्रमण निकै बढेको छ । काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातमा लापर्वाही बढेको छ । सरकारले सुरक्षाका मापदण्ड अपनाएर साविकको भाडादरमा ५० प्रतिशत बढाएर संचालन गर्ने अनुमति दिएको थियो । त्यसका साथै आधा मात्र यात्रु राखेर संचालन गर्न अनुमति दिएको थियो । तर उपत्यका लगायतका अन्य जिल्लाहरुमा पनि यात्रु खचाखच राखेर संचालन गरेपछि झनै संक्रमण बढेको छ । जसको न्युनिकरणका लागि सरकारले विकल्प खोज्दैछ ।

यातायात विभागका महानिर्देशक गोगनबहादुर हमालले लामो दुरीको यातायात भदौ १ गतेदेखि संचालनका लागि विभाग तयारी अवस्थामा रहेको बताए । अहिलेसम्म अर्काे कुनै निर्णय नभएकाले सरकारले यसअघि गरेको निर्णय अनुसार नै संचालन हुने महानिर्देशक हमालको भनाइ छ । छोटो दुरीका जस्तै लामो दुरीका सार्वजनिक सवारी साधनमा पनि ५० प्रतिशत भाडादर बढाएर संचालन गरिने हमालले बताए ।

त्यस्तै व्यवसायीहरु पनि लामो दुरीका सवारी साधन संचालनका लागि तयारी अवस्थामा छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीहरु तयारी अवस्थामा रहेको बताए । लामो समय लकडाउन भएका कारण यातायात क्षेत्रमा कार्यरत हजारौँ मजदुरहरु बेरोजगार भएकाले खानै नपाई मर्ने अवस्था आउन लागेकाले अब लामो दुरीका सवारी साधन पनि संचालन गर्नुपर्ने महासचिव सिटौलाको भनाइ थियो ।

यातायात विभागले बनाएको कार्यविधीमा यस्तो छ सार्वजनिक सवारी साधन संचानन सम्बन्धी व्यवस्था

सरकारले सार्वजनिक यातायात संचालन गर्न कार्यविधी बनाएको छ । सामाजिक दुरी कायम गरी स्वास्थ्य सम्बन्धी उपाय अपनाउँदै कसरी संचालन गर्न सकिन्छ भन्ने विषयमा सो कार्यविधी केन्द्रित छ । सार्वजनिक सवारी संचालनमा ल्याएसँगै यो कार्यविधी लागू भएको छ ।

सो कार्यविधीमा सवारी साधन प्रत्येक खेपपछि निर्मलीकरण गर्नु पर्ने, यात्रुलाई अनिवार्य रुपमा स्यानिटाइजर उपलब्ध गराउनु पर्ने, भाडा दिँदा सकेसम्म अनलाईन प्रणाली तथा क्यासको हकमा बाकसको व्यवस्था गर्ने,अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने लगायतका व्यवस्था गरिनु पर्ने उल्लेख छ । त्यस्तै, यतिबेला सार्वजनिक सवारी साधन संचालन गर्दा सामान्य अवस्थामा जस्तै यात्रु कोचेर राख्न पाइने छैन । यात्रुसँग भौतिक सम्पर्क गर्न पनि नपाइने उल्लेख गरेको छ । रोगको महामारी नफैलियोस भन्ने उदेश्यले फोहोर फाल्न डस्बिनदेखि गाडीमा पंखाको पनि व्यवस्था गरिनु पर्ने सो कार्यविधीमा उल्लेख छ । तर सो कार्यविधीमा भाडाबारे भने केही उल्लेख गरिएको छैन ।

कति लगानी छ यातायात क्षेत्रमा ?

कोरोना महामारी सुरु भएपछि त्यसको न्युनिकरणका लागि सरकारले गत चैत्र ११ गतेदेखि मुलुकैभरी लकडाउन गरेको थियो । त्यस यता पूर्णरुपमा बन्द भएका सार्वजनिक यातायात संचालन हुन पाएका छैनन् । जसका कारण यस क्षेत्रमा लगानी भएको खर्बाै रुपैँयाँ जोखिममा परेको छ । सार्वजनिक यातायात क्षेत्रमा झण्डै १० खर्ब भन्दा बढीको लगानी रहेको व्यवसायीको आँकलन छ । जसमा ८ खर्व रुपैँयाँ बैंकहरुको मात्रै लगानी छ । लामो समयसम्म यातायातका साधनहरु थन्किँदा खिया लाग्ने र मर्मत गर्नुपर्ने अवस्थामा पुगेकाले त्यस्ता सवारीहरु मर्मत गरेर भदौ १ गतेसम्म तयारी पूरा गर्ने सिटौलाले बताए । अहिले यातायात क्षेत्रमा ३ लाख ५० हजारको हाराहारीमा सार्वजनिक सवारी साधनहरु संचालनमा छन् । जसमा ६० प्रतिशत स्वरोगार छन् । व्यवसाय ठप्प हुँदा उनीहरुको घर चल्नै समस्या भएको छ ।

प्रकाशित: २१ साउन २०७७ १७:४२ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी